जिल्लास्तरीय भलिबल प्रतियोगिता : सेमिफाइनल पुग्ने चार टोलीको टुंगो

हेटौँडा — हेटौँडाको टिसिएन चौरमा जारी खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत सञ्चालन भइरहेको जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगितामा सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको छ।

सोमबार सम्पन्न क्वाटरफाइनल खेलहरूबाट उत्कृष्ट प्रदर्शन गर्दै थाहा नगरपालिकाको मंगलेश्वर युवा क्लब, बज्रबाराहीको नवप्रतिभा क्लब, मनहरी गाउँपालिका र हेटौँडा–११ को छहारी युवा क्लबले अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्।

पहिलो क्वाटरफाइनल खेलमा मंगलेश्वर युवा क्लबले मिलन युवा क्लबलाई २५–२० र २५–१४ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्‍यो। दोस्रो खेलमा नवप्रतिभा क्लबले बागमती गाउँपालिकामाथि २५–१९ र २५–१८ को नतिजासहित जित निकाल्दै अन्तिम चारमा स्थान बनायो।

त्यसैगरी, अर्को खेलमा मनहरी गाउँपालिकाले सफल केयर हेटौँडा–१५ लाई २५–१२ र २५–२२ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गर्‍यो। अन्तिम क्वाटरफाइनल खेलमा छहारी युवा क्लब हेटौँडा–११ ले पशुपति युवा क्लब हेटौँडा–९ लाई २५–१४ र २५–१८ को सेटमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गर्‍यो।

फाइनल प्रवेशका लागि सेमिफाइनलमा मंगलेश्वर युवा क्लब र नवप्रतिभा क्लब आमनेसामने हुनेछन् भने मनहरी गाउँपालिका र छहारी युवा क्लबबीच अर्को प्रतिस्पर्धा हुनेछ। आयोजकका अनुसार सेमिफाइनल खेल मंगलबार बिहान सञ्चालन हुनेछन् भने फाइनल खेल दिउँसो १ बजेबाट सुरु हुनेछ।

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। सेमिफाइनलमा पराजित हुने दुवै टोलीलाई समान १५–१५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.