कैलाश गाउँपालिकामा १० शैयाको आधारभूत अस्पताल सञ्चालन

हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकामा १० शैयाको आधारभूत अस्पताल सञ्चालनमा आएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार उक्त अस्पतालको उद्घाटन गरेका हुन्।

संघीय सरकारको ६ करोड ५८ लाख ९९ हजार १ सय ७६ रुपैयाँ लागतमा निर्माण गरिएको अस्पतालको भवन आशिष/आर्शिवाद/स्वामी नारायण जेभीसँग २०७८ जेठ २७ गते निर्माण सम्झौता भई २०८२ असारमा सम्पन्न भएको हो। अढाई तल्ले भवनमा १० शैया क्षमताको अस्पताल सञ्चालनमा ल्याइएको छ।

अस्पतालमा २ जना चिकित्सकसहित २२ जनाको दरबन्दी रहेको छ। दरबन्दीअनुसार ५ जना स्टाफ नर्स, २ जना अनमी, ३ जना हेल्थ असिस्टेन्ट, २ जना अहेव, १ जना कविराज, १ जना ल्याब टेक्निसियन, १ जना रेडियोग्राफर, १ जना फार्मेसी सहायक, १ जना डेन्टल हाइजिनिस्ट, १ जना नासु, २ जना कार्यालय सहयोगी, १ जना सरसफाइकर्मी र १ जना सुरक्षाकर्मी रहने व्यवस्था गरिएको छ। तर हालसम्म स्वास्थ्य चौकीको दरबन्दी मात्रै रहेको कैलाश गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमले जानकारी दिए।

अस्पतालबाट इमरजेन्सी सेवासहित स्त्रीरोग, बालरोग, दन्तरोग, छाला रोग, आयुर्वेद, आँखाजाँच, प्रयोगशाला, भिडियो एक्स–रे तथा इसिजी लगायतका सेवा उपलब्ध हुने जनाइएको छ।

२१ हजार ८ सय ५६ जनसंख्या रहेको कैलाश गाउँपालिका मकवानपुर सदरमुकाम हेटौँडाबाट करिब ४५ किलोमिटर टाढा पर्छ। जिल्लाकै दुर्गम पालिकामध्ये एक मानिने यस क्षेत्रमा स्वास्थ्य सेवा अभावका कारण स्थानीयलाई उपचारका लागि हेटौँडा वा मनहरी बजार पुग्नुपर्ने बाध्यता रहेको थियो। अब गाउँपालिकामै अस्पताल स्थापना भएपछि स्वास्थ्य सेवामा पहुँच बढ्ने गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताए।

अस्पताल सञ्चालनमा आएपछि कैलाश गाउँपालिकाका १० वटै वडा तथा राक्सिराङ गाउँपालिकाका वडा नम्बर ४ र ९ का बासिन्दा लाभान्वित हुने गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले जानकारी दिए।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठ, वडा अध्यक्ष राजेन्द्र घिसिङलगायतले मन्तव्य व्यक्त गरेका थिए। सो अवसरमा अस्पतालका लागि जग्गा उपलब्ध गराउने व्यक्तिहरू तथा भवन निर्माण गर्ने व्यवसायीलाई सम्मान गरिएको थियो।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.