हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१० स्थित आनन्द टोलमा पछिल्लो केही समयदेखि लुटपाटका घटनाहरू बढ्दै गएपछि स्थानीयबासीहरू त्रासमा परेका छन्। विशेषगरी अखण्ड मार्ग र त्यस वरपरका क्षेत्रहरू क्रमशः असुरक्षित बन्दै गएको स्थानीयहरूको गुनासो छ।
स्थानीयका अनुसार गत सोमबार बिहान करिब ३ बजे खोटाङ घर भई चितवन जान हिँडेका एक युवकलाई तीन जनाको समूहमा आएको लुटेरा समूहले लुटपाट गरेको थियो। बुढीआमासँगै यात्रा गरिरहेका ती युवकबाट लुटेराले नगद १० हजार रुपैयाँ, पासपोर्ट तथा अन्य महत्वपूर्ण कागजात लुटेर तीनैतिर छरिएर भागेको प्रत्यक्षदर्शीले बताए।

पीडित युवकले आफूलाई लुटिएको भन्दै हारगुहार गरेपछि स्थानीयहरू घरबाट निस्किएका थिए। स्थानीयहरूको सक्रियतापछि लुटेरा समूह फरार भएको र पछि प्रहरी तथा स्थानीयको सहयोगमा पीडितलाई चितवन पठाइएको थियो।
पीडितले दिएको जानकारी अनुसार लुटेरामध्ये एक जनाले उनकी आमाको हात समातेर नियन्त्रणमा राखेका थिए भने अन्य दुई जनाले युवकलाई घेराबन्दी गरी लुटपाट गरेका थिए।
आनन्द टोलवासीहरूको भनाइमा अखण्ड मार्ग, बसपार्क आसपास र बजार क्षेत्र नजिकै पर्ने भएकाले रातिको समयमा अनेक प्रकारका अपरिचित व्यक्तिहरुको चहलपहल बढ्दै गएको छ, जसले गर्दा अपराधका घटना बढिरहेको छ। हेटौंडा बसपार्क नजिकमै पर्ने भएकाले राति ओहोरदोहोर गर्नेहरूको संख्या धेरै हुने र त्यसको फाइदा उठाएर लुटपाट हुने गरेको स्थानीयहरूले बताएका छन्।
स्थानीयहरूले सुरक्षामा ध्यान दिन र नियमित गस्तीको व्यवस्था गर्न प्रहरी प्रशासनसँग माग गरेका छन्।































