मकवानपुर । स्वतन्त्र पत्रकार संघ, मकवानपुरले एभिन्युज टेलिभिजनको व्यवस्थापनमाथि गम्भीर आरोप लगाउँदै पत्रकार प्रमोद राज सहनीलाई एक वर्षसम्म पारिश्रमिक नदिएको र श्रमिक अधिकारको उल्लंघन गरेको बताएका छन्। संघले घटनालाई नेपालको संविधान, श्रम ऐन २०७४, र श्रमजीवी पत्रकार ऐनको स्पष्ट उल्लंघन भएको ठहर गरेको छ।
विज्ञप्ति अनुसार, पत्रकार साहनीले बारम्बार पारिश्रमिक भुक्तानीका लागि मानव संसाधन विभाग र कार्यकारी प्रमुखलाई अनुरोध गर्दा “प्रक्रियामा छ” र “केही दिनमा हुन्छ” जस्ता अस्पष्ट जवाफ मात्र पाएका छन्। साथै, कानुनी हक माग गरेपछि उनलाई संस्थाको आधिकारिक सञ्चार समूहबाट हटाइएको आरोप पनि संघले लगाएको छ, जुन पेशागत स्वतन्त्रता र श्रमिक अधिकारमाथि प्रत्यक्ष आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ।
स्वतन्त्र पत्रकार संघ, मकवानपुरले एभिन्युज टेलिभिजनको व्यवस्थापनलाई पत्रकार प्रमोद राज साहनीसहित सबै संवाददाताहरूको सम्पूर्ण बक्यौता पारिश्रमिक एक महिनाभित्र बिना शर्त भुक्तानी गर्न निर्देशन दिएको छ। यदि उक्त अवधिमा पारिश्रमिक भुक्तानी नहुँदा, संघले कानुनी कारबाहीका लागि श्रम तथा रोजगार कार्यालय, मानव अधिकार आयोग र सम्बन्धित अदालतमा उजुरी दर्ता गर्ने चेतावनी दिएको छ।
साथै संघले नेपाल पत्रकार महासंघ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, श्रम तथा रोजगार कार्यालय, र मानव अधिकार आयोगलाई घटनाको तत्काल छानबिन गरी कानुन बमोजिम कारबाही अघि बढाउन औपचारिक अनुरोध गरेको छ। विज्ञप्तिमा सबै सञ्चार गृहहरूलाई श्रम ऐन र श्रमजीवी पत्रकार ऐनको पालना गर्न स्मरण गराउँदै, श्रम अधिकार उल्लंघन गर्ने संस्थाविरुद्ध सार्वजनिक अभियान, कानुनी कारबाही र संगठित आन्दोलन सञ्चालन गर्ने चेतावनी दिइएको छ।
स्वतन्त्र पत्रकार संघ मकवानपुरका सचिव बसन्त भण्डारीले भने, “पत्रकारिता लोकतन्त्रको स्तम्भ हो र पत्रकारको श्रम अधिकारको संरक्षण नै पत्रकार स्वतन्त्रताको संरक्षण हो। श्रमको सम्मान बिना स्वतन्त्र पत्रकारिता सम्भव छैन।”































