प्रेस युनियन मकवानपुरद्वारा ५० हजार नगद राशीको पत्रकारिता सम्मान घोषणा

हेटौँडा । नेपाल प्रेस युनियन मकवानपुर शाखाले प्रदान गर्दै आएको ‘स्वर्गीय सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता पुरस्कार’को नगद राशी वृद्धि गरी ५० हजार रुपैयाँ पुर्‍याएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक तथा पुरस्कारका प्रायोजक चिरञ्जीबी ढकालले हेटौँडामा प्रेस युनियन मकवानपुरको टोलीसँगको भेटघाटका क्रममा आगामी वर्षदेखि पुरस्कार राशी ५० हजार रुपैयाँ पुर्‍याउने घोषणा गरेका हुन्।

उनको घोषणासँगै यो पुरस्कार अब मकवानपुर जिल्लाको पत्रकारिता क्षेत्रमा सर्वाधिक नगद राशीको पत्रकारिता पुरस्कार बन्ने भएको छ। यसअघि उक्त पुरस्कारको राशी १५ हजार रुपैयाँ मात्र थियो। सो पुरस्कारबाट पहिलो पटक नेपाल प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणि दाहाल सम्मानित भइसकेका छन्।

भेटघाटका क्रममा प्रायोजक ढकालले पत्रकारहरूको संगठनात्मक एकता र व्यावसायिक नेतृत्व विकासमा जोड दिँदै भने, “प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत सम्मान सुदृढ गर्न युनियनको भूमिका प्रशंसनीय छ। म यस अभियानमा निरन्तर सहयोग गर्न प्रतिबद्ध छु।”

त्यस अवसरमा प्रेस युनियन मकवानपुरका अध्यक्ष सुबास विडारीले पुरस्कार राशी वृद्धिले मकवानपुरको पत्रकारिता क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे।
उनले भने, “यो मकवानपुरको पत्रकारिताको लागि ऐतिहासिक क्षण हो। पत्रकारितालाई मुल पेशा बनाई कर्ममा निरन्तर लागिरहेकालाई नगद ५० हजारसहित सम्मान गर्न पाउनु हामी सबैका लागि गर्वको विषय हो। यसले पत्रकारहरूलाई प्रोत्साहन गर्ने र संस्थागत विकासमा टेवा पुग्नेछ।”

अध्यक्ष विडारीका अनुसार सीतादेवी स्मृति पत्रकारिता पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गरिनेछ। उनले थपे, “युनियनसँग हाल थप तीन वटा पुरस्कार पनि रहेका छन्। ती पुरस्कारहरू साधारणसभा र अधिवेशनको समयमा वितरण गर्नेछौं। सीतादेवी स्मृति सम्मान भने विशेष समारोहको आयोजना गरी प्रदान गरिनेछ, जसका लागि कार्यविधि निर्माणको तयारी भइरहेको छ।”

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.