एभिन्युज टेलिभिजनद्वारा पत्रकार सहनीलाई तलब नदिएकोप्रति प्रेस युनियन मकवानपुरको ध्यानाकर्षण

हेटौँडा । नेपाल प्रेस युनियन मकवानपुरले एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार प्रमोद राज साहनीलाई करिब एक वर्षदेखि पारिश्रमिक नदिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।

प्रेस युनियन मकवानपुरले शुक्रबार जारी गरेको विज्ञप्तिमा श्रमजीवी पत्रकार ऐन, २०५१ र श्रम ऐन, २०७४ बमोजिम कुनै पनि पत्रकार वा श्रमिकले गरेको श्रमको उचित पारिश्रमिक समयमै पाउनुपर्ने स्पष्ट कानुनी व्यवस्था रहेको स्मरण गराउँदै, एभिन्युज टेलिभिजनले त्यसको अवहेलना गरेको आरोप लगाइएको छ।

विज्ञप्तिमा भनिएको छ, “पत्रकार साहनीलाई लामो समयदेखि तलब नदिएको घटना प्रेस स्वतन्त्रता, पत्रकारको अधिकार र श्रमिक न्यायको दृष्टिले निन्दनीय छ।”

युनियनले एभिन्युज टेलिभिजनका सम्बन्धित पक्षलाई साहनीको बक्यौता पारिश्रमिक तुरुन्तै उपलब्ध गराउन माग गरेको छ। साथै, तोकेको समयसीमाभित्र समस्या समाधान नभए श्रमजीवी पत्रकारको हकहितका लागि आन्दोलनमा उत्रनु पर्ने बाध्यता सिर्जना हुने चेतावनी पनि दिएको छ।

नेपाल प्रेस युनियन मकवानपुरले पत्रकारको श्रमको सम्मान र हकअधिकारको संरक्षण नै स्वतन्त्र पत्रकारिताको आधार भएको पुनः दोहोर्‍याउँदै सम्पूर्ण सञ्चारगृहलाई पत्रकारप्रतिको दायित्व र कानुनी कर्तव्यपालनमा जिम्मेवार बन्न आह्वान गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.