हेटौँडा ।‘आफ्नो आँखालाई माया गरौं’ भन्ने नारासहित विश्व दृष्टि दिवस–२०२५ नेपालभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ। यस अवसरमा तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको हेटौँडा सामुदायिक आँखा अस्पतालले दृष्टि समस्या, अन्धोपनका कारण र बच्ने उपायबारे छलफल कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा अस्पतालका प्रमुख सुनिल थकालीले अन्धोपनका प्रमुख कारण, सुरक्षाका उपाय र समयमै उपचारको महत्त्वबारे जानकारी गराए। उहाँका अनुसार, नेपालमा दृष्टि समस्या हुने जनसंख्या ३.९ प्रतिशत र अन्धोपन हुने दर ०.३ प्रतिशत रहेको छ। तीमध्ये महिलामा समस्या बढी देखिएको उल्लेख गर्दै थकालीले भने, “अन्धोपनका करिब ६५ प्रतिशत कारण मोतीबिन्दु हुन्, बाँकीमा जलबिन्दु, उमेरजन्य पर्दा र रेटिनासम्बन्धी समस्या मुख्य हुन्।”
विश्व स्वास्थ्य सङ्गठन (WHO) का अनुसार विश्वभर करिब ४ करोड ५० लाख बालबालिका दृष्टिसम्बन्धी समस्याबाट प्रभावित छन्। नेपालमा मात्र करिब ११ लाख बालबालिकामा दृष्टि समस्या रहेको अनुमान छ, जसमा ७ लाख बालबालिका उपचार सेवाबाट वञ्चित रहेको तथ्यांक सार्वजनिक गरिएको छ।
डा. थकालीका अनुसार बच्चा जन्मिएको एक महिनामै पहिलोपटक आँखा परीक्षण गर्नुपर्छ, विद्यालय भर्ना अघि र त्यसपछि हरेक वर्ष नियमित जाँच गर्नुपर्ने हुन्छ। साथै, मधुमेह भएका २.१ प्रतिशत बिरामीमा दृष्टि गुम्ने समस्या देखिएको हुँदा सुगर र आँखा दुवै नियमित परीक्षण गर्नुपर्ने सुझाव दिनुभयो।
तिलगंगा आँखा प्रतिष्ठानले दृष्टि दिवसको अवसरमा देशभरका विद्यालय, प्रहरी र अन्य सुरक्षा निकायका सदस्य, सञ्चारकर्मी तथा पत्रकारहरूका लागि निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ। प्रतिष्ठानसँग हाल एक उच्चस्तरीय केन्द्र अस्पताल, तीन सामुदायिक आँखा अस्पताल, १६ शल्यक्रिया केन्द्र र ४५ सामुदायिक आँखा केन्द्र रहेका छन्। यी माध्यमबाट वार्षिक करिब ७ लाख बिरामीले उपचार सेवा लिने र ५० हजार बिरामीको शल्यक्रिया हुने गरेको प्रतिष्ठानले जनाएको छ।
हेटौँडा सामुदायिक आँखा अस्पतालमा मकवानपुर सहित बारा, पर्सा, रौतहट लगायत जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन्। गत वर्ष अस्पतालमार्फत ४२ हजार २१ जनाले उपचार सेवा लिएका थिए भने २ हजार ५२४ बिरामीको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।



































































