हेटौँडा । नेपाल पत्रकार महासंघ, मकवानपुर शाखा र मकवानपुर सहकारी अस्पतालबीच पत्रकारलाई लक्षित गरी स्वास्थ्य उपचारसम्बन्धी सम्झौता गरिएको छ ।
सम्झौता अनुसार महासंघमा आवद्ध पत्रकारहरूले अस्पतालमा निःशुल्क ओपीडी, शल्यक्रिया तथा भर्ना उपचार सेवा पाउने भएका छन् । साथै ल्याब परीक्षण, रेडियोलोजीसहित अन्य परीक्षणहरू पनि निःशुल्क उपलब्ध हुनेछ भने औषधि खरिदमा १० प्रतिशत छुट दिइने महासंघका सचिव केशव समर्पण सुवेदीले जानकारी दिनुभयो ।
शनिबार महासंघको सभाहलमा आयोजित कार्यक्रममा महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी र सहकारी अस्पतालका अध्यक्ष नरोत्तम दाहालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
महासंघका सदस्यहरूले सेवा लिनका लागि सदस्यता प्रमाणपत्र अनिवार्य प्रस्तुत गर्नुपर्नेछ । प्रारम्भिक चरणमा सम्झौता तीन वर्षका लागि गरिएको हो । सामाजिक उत्तरदायित्वका आधारमा सक्रिय पत्रकारहरूको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न सम्झौता गरिएको अस्पताल सञ्चालन समितिका सचिव अर्जुन विडारीले बताए ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखामा हाल ११७ सदस्य आवद्ध रहेका छन् । सम्झौतासँगै चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम समेत सम्पन्न गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारू मगर, मकवानपुर अध्यक्ष बालकृष्ण शर्मा अधिकारीसहितका वक्ताहरूले मन्तव्य राखेका थिए । कार्यक्रममा सहकारी अस्पतालका प्रतिनिधि, महासंघका पूर्वअध्यक्ष तथा पत्रकार निकट सङ्गठनका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।































