मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै जिल्लाभर निषेधाज्ञा तथा कर्फ्यू आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा जारी सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) र ६(क) बमोजिम बिहीबारदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी आदेश गरिएको उल्लेख छ।
निर्धारित समयअनुसार बिहान १०:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म निषेधाज्ञा लागू हुनेछ भने बेलुकी ७:०० बजेदेखि बिहान ६:०० बजेसम्म कर्फ्यू लागू हुने जनाएको छ। अत्यावश्यक कामका लागि नागरिकहरूले बिहान ६:०० देखि १०:०० बजेसम्म र बेलुकी ५:०० देखि ७:०० बजेसम्म मात्र आवतजावत गर्न पाउने व्यवस्था गरिएको छ।
आदेशमा निषेधाज्ञा तथा कर्फ्यू अवधिभर पाँच जना भन्दा बढी मानिस एकै ठाउँमा भेला हुन नपाइने प्रष्ट पारिएको छ। तर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, एम्बुलेन्स, शववाहन, दमकल, औषधि, खाद्यान्न, इन्धन, दुध, तरकारी र पानी ढुवानी गर्ने सवारीसाधन सञ्चालनमा कुनै रोक नहुने जनाइएको छ।
त्यस्तै, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले आफ्नो परिचयपत्र देखाएर कार्यालयमा उपस्थित हुन सक्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले टिकट देखाई विमानस्थलसम्म जान पाउने व्यवस्था मिलाइएको छ।
जिल्ला प्रशासनले शान्ति–सुरक्षालाई सामान्य अवस्थामा फर्काउन सबै पक्षको सहयोगको अपेक्षा गरेको छ। आदेश उल्लंघन गर्नेहरूमाथि भने प्रचलित कानुनअनुसार कडा कारबाही हुने चेतावनीसमेत दिइएको छ।
































