हेटौँडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रयास अन्तर्गत नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदमा औपचारिक दाबी पेस गरेका छन्।
बानियाँले कांग्रेस र नेकपा एमालेको संयुक्त समर्थनमा मुख्यमन्त्री बन्ने दाबी सोमबार प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेका हुन्। कांग्रेसका ३७ र एमालेका २७ सांसद गरी कुल ६४ जना सांसदहरूको समर्थन रहेको उल्लेख गर्दै बानियाँले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनको माग गरेका हुन्। बागमती प्रदेश सभामा कुल ११० सदस्य छन्।
दावी पेस गरिएको निवेदनमा कांग्रेस संसदीय दलका नेता बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थापाको हस्ताक्षर रहेको छ।
यसअघि प्रदेश प्रमुखको कार्यालयले सोमबार विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८ (२) अनुसार मंगलबार दिउँसो २ बजेसम्म बहुमत दावीका साथ सरकार गठनको प्रस्ताव पेश गर्न आह्वान गरेको थियो।
प्रदेश प्रमुखको कार्यालयले मंगलबार दिउँसो ३ बजे मुख्यमन्त्री नियुक्त गरी, त्यसपछिको समयमा शपथ ग्रहणको कार्यक्रम तय गरेको छ।
यसरी गठबन्धनको सहमतिमा अघि बढाइएको दाबीले बागमती प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणतर्फ मार्ग प्रशस्त गरेको छ।































