मकवानपुर । हेटौंडामा ‘दुधको खपत बढाऔं, अर्थतन्त्रलाई सवल बनाऔं’ भन्ने मूल नाराका साथ २५ औं विश्व दुध दिवस मनाइएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजनामा विश्व दुध दिवस मनाइएको हो ।
आइतबार बिहान बागमती प्रदेशको राजधानी हेटौंडास्थित कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, बागमती प्रदेशको प्राङ्गण चौकीटोलदेखि सुरु भएको प्रभातफेरी ¥याली रोयल प्यालेस हेटौंडामा पुगेर सभामा परिणत भएको थियो ।
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रम नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री अधिकारीले किसानको समस्या समाधान गर्नका लागि सरकार प्रतिवद्ध रहेको र सबै पक्षबाट इमान्दार प्रयास आवश्यक रहेको बताएका थिए । उनले दुध उत्पादनमा वृद्धि गर्न किसानलाई प्रोत्साहन गर्ने नीतिगत तथा व्यवहारिक पहल भइरहेको बताए ।
कार्यक्रममा दुग्ध क्षेत्रसँग सम्बन्धित विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू, पशुपालन व्यवसायी, किसान तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।





























