हेटौंडा । साहित्यिक क्षेत्रको सशक्त गतिविधिका लागि स्थापना गरिएको साहित्य सङ्गम मकवानपुरको अक्षयकोषमा डा. केशव श्रेष्ठ ‘ज्योति’ले १ लाख रुपैयाँ सहयोग गरेका छन्।
सङ्गमका संस्थापक सदस्य तथा “साहित्य सङ्गम मकवानपुर कृति सम्मान”का संस्थापक समेत रहेका डा. श्रेष्ठले हालै सम्पन्न साहित्य उत्सव कार्यक्रममा संस्थाका अध्यक्ष डी.बी. बर्तौलालाई चेक हस्तान्तरण गरेका हुन्।
कार्यक्रमका क्रममा डा. श्रेष्ठले हालसम्म २५ हजार रुपैयाँ रहेको कृति सम्मानको राशी आगामी वर्षदेखि ३५ हजार रुपैयाँ पुर्याउने घोषणा गर्दै साहित्यिक योगदानलाई अझ थप प्रोत्साहन दिने प्रतिबद्धता व्यक्त गरे।
साहित्य सङ्गम मकवानपुरले नियमित साहित्यिक गतिविधि सञ्चालन र दीर्घकालीन योजना कार्यान्वयनका लागि अक्षयकोष स्थापना गरेको हो।
संस्थाले डा. श्रेष्ठको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता योगदानहरूले संस्थालाई थप ऊर्जाशील बनाउने विश्वास व्यक्त गरेको छ।































