हेटौंडामा सम्पन्न भयो पत्रकार महासंघ बागमती प्रदेशको प्रादेशिक भेला, १३ बुँदे घोषणापत्र जारी

हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दोस्रो प्रादेशिक भेला हेटौंडामा सम्पन्न भएको छ। दुई दिनसम्म चल्ने भेला १३ बुँदे “हेटौंडा घोषणापत्र” जारी गर्दै समापन गरिएको हो।

भेलाको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गरेका थिए। कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, महासंघका केन्द्रीय तथा प्रदेशस्तरीय पदाधिकारी, १३ वटै जिल्लाका शाखा प्रतिनिधिहरु र विभिन्न पत्रकार संगठनका प्रमुखहरूको उपस्थिति थियो।

घोषणापत्रमा तीनै तहका सरकारको ध्यानाकर्षण गराउँदै पत्रकारहरूको सुरक्षा, सामाजिक सुरक्षामा समावेशीकरण, सञ्चारमाध्यमलाई उद्योगको मान्यता, सहुलियत ऋण, तथा लोककल्याणकारी सुविधाको माग गरिएको छ। साथै, सरकारी अस्पतालमा पत्रकारहरूलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन, सञ्चारकर्मीका लागि सामाजिक सुरक्षा कोष, स्वास्थ्य विमा, दुर्घटना बिमा र लेखनवृत्ति जस्ता सुरक्षामूलक कार्यक्रम ल्याउन जोडदार आग्रह गरिएको छ।

महासंघ बागमती प्रदेशले कार्यसम्पादन पारदर्शी र प्रभावकारी बनाउन ‘कार्यबिधि २०७२’ पारित गरेको छ। यसले प्रदेश समितिको बैठक र कार्यक्रम व्यवस्थापनलाई सरल बनाउने अपेक्षा गरिएको छ।

भेलाले बागमती प्रदेश सरकारलाई विज्ञापन नीति निर्माणका लागि दबाब दिन प्रदेश विज्ञापन नीति सुझाव समिति गठन गरेको छ। समितिको संयोजक पत्रकार महासंघ प्रदेश कोषाध्यक्ष शंकर अधिकारीलाई बनाइएको छ भने सदस्यमा मकवानपुर, चितवन, र काठमाडौं शाखाका अध्यक्षहरु समावेश छन्। समितिले तीन महिनाभित्र प्रतिवेदन पेश गर्नेछ।

घोषणापत्रमा महिला तथा अपांगता भएका सञ्चारकर्मी र स्वरोजगारमूलक सञ्चार माध्यमलाई विशेष संरक्षण र सुविधा उपलब्ध गराउन माग गरिएको छ। विपद् तथा द्वन्द्वका समयमा जोखिम मोलेर काम गर्ने पत्रकारलाई प्रोत्साहन दिन र खोजमूलक पत्रकारितालाई प्रवर्धन गर्न लेखनवृत्तिको मागसमेत समावेश छ।

भेलाले मकवानपुरगढी, सहिद स्मारक लगायतका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्य क्षेत्रको संरक्षण र प्रवर्धन गर्नसमेत सरकारसँग अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.