हेटौंडा फुटबल एकेडेमीलाई फलफूल सहयोग

हेटौंडा । समाजसेवामा सक्रिय संस्था ‘सेवा, सहयोग र आवाजमा हामी’ले हेटौंडा फुटबल एकेडेमीलाई फलफूल तथा खानेपानी सहयोग गरेको छ। चितवनको रत्ननगरमा जारी दोस्रो माधवपुर गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हेटौंडा फुटबल एकेडेमीलाई उक्त सहयोग प्रदान गरिएको हो।

संस्थाका अध्यक्ष विशालराज महतको नेतृत्वमा बुधबार संस्थाको टोली एकेडेमीको प्रशिक्षण स्थल हेटौंडा–४, हुप्रचौर पुगेर खेलाडीहरूलाई स्याउ, केरा र पानी वितरण गरेको थियो। एकेडेमीले प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुर फुटबल क्लबलाई ४–३ को टाइब्रेकरमा हराउँदै सेमीफाइनलमा स्थान बनाएको छ।

अध्यक्ष महतले एकेडेमीका संस्थापक अध्यक्ष तथा प्रशिक्षक भीम लामालाई चितवन प्रस्थान गर्नु अघि नै सामाग्री हस्तान्तरण गरिएको जानकारी दिए। मकवानपुर जिल्लाबाट बाह्य प्रतियोगितामा सहभागी हुने खेलाडीलाई हौसला प्रदान गर्नुका साथै खेलकुदप्रति मनोबल बढाउने उद्देश्यले सहयोग गरिएको उनले बताए।

प्रशिक्षक भीम लामाले हुप्रचौरमा सञ्चालन हुँदै आएको नियमित प्रशिक्षणमा करिब ८० जना खेलाडी सहभागी रहेको जानकारी दिए। तीमध्ये ३० जना जुनियर र १६ जना सिनियर खेलाडी छन्। प्रशिक्षक लामाका अनुसार प्रशिक्षण एक घण्टादेखि डेढ घण्टासम्म दिइन्छ।

एकेडेमीले महिला खेलाडीलाई पनि प्रतियोगितामा सहभागी गराउँदै आएको छ। गत वर्ष भारतको सिक्किममा सम्पन्न ‘इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगिता’मा सहभागिता जनाएर नेपालका लागि उपाधि जितेको पनि लामाले बताए। उनी एएफसी ‘बी’ लाइसेन्स प्राप्त फुटबल प्रशिक्षक हुन्।

संस्थाले यसअघि मकवानपुरगढी–५ को ज्योति प्राथमिक विद्यालयमा शैक्षिक सामाग्री, हेटौंडा–१८ को वैदिक संस्कृत गुरुकुलमा खाद्यान्न तथा फर्निचर, हेटौंडा–१९ स्थित जीवन ज्योति आधारभूत विद्यालयमा न्यानो कपडा वितरण गरेको थियो। साथै, माघ १९ गते बाजोपनसम्बन्धी समस्यामा पीडितलाई लक्षित गर्दै विशेषज्ञ डाक्टरको सहयोगमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम पनि सञ्चालन गरिएको संस्थाले जानकारी दिएको छ।

सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा फुटबल एकेडेमीका खेलाडी, प्रशिक्षक तथा संस्थाका पदाधिकारीहरूको उपस्थिति थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.