हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ मा लागू पदार्थ, दुर्व्यसन, साइबर क्राइम तथा आत्महत्या न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। हेटौंडा उपमहानगरपालिकाको सहयोगमा टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा तथा सामुदायिक सेवा केन्द्र, हेटौंडा–११ र टोल विकास संस्था वडा समन्वय समिति, हेटौंडा–११ को व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको छ ।
टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर ११ का अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता कार्यक्रम भएको थियो ।
प्रमुख अतिथि जुना दाहालले युवावर्गलाई लागूपदार्थ, दुर्व्यसन र साइबर अपराधबाट जोगाउन सामुदायिक तहबाट नै सचेतनामूलक गतिविधिहरू आवश्यक रहेको बताउनुभयो। समाजमा बढ्दो दुर्व्यसन र मानसिक असन्तुलनले आत्महत्याको दर समेत बढ्दै गएको छ। हामीले विद्यालय, टोल, परिवार सबै तहमा संवाद र सहयोगको वातावरण सिर्जना गर्नुपर्छ। समस्या देखेर मात्र हुँदैन, समाधानमा सामेल हुनु आजको आवश्यकता हो ।
वडाध्यक्ष दाहालले यस्ता कार्यक्रमहरूले युवाहरूलाई आत्मविश्वासी, जिम्मेवार र सुरक्षित डिजिटल प्रयोगकर्ता बन्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो। साथै, वडा कार्यालयबाट पनि यस्ता अभियानहरूलाई निरन्तर सहयोग गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
कार्यक्रमका सभापति ध्रुव प्रसाद अधिकारीले लागूपदार्थको कुलत, दुर्व्यसन र साइबर अपराधको असर हाम्रो समाजको भित्री संरचनामै असर पार्न थालेको बताउँदै, यसका समाधानका लागि सचेतना, सम्वाद र पुनःस्थापनाको संयोजनमा आधारित कार्यक्रमहरू नियमित हुनुपर्नेमा जोड दिनुभयो।
दुर्व्यसन केवल व्यक्तिगत लत होइन, सामाजिक रोग हो। यसको न्यूनीकरणका लागि हामी सबैले टोल, विद्यालय र घरबाटै चेतनामूलक वातावरण बनाउनुपर्छ। साइबर क्राइमको बढ्दो जोखिमका बीच युवालाई प्रविधिसँगै नैतिकता पनि सिकाउन आवश्यक छ। आत्महत्या न्यूनीकरणका लागि परिवारभित्र सम्वाद, मनोपरामर्श, तथा सामाजिक सहकार्य अत्यावश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा प्रशिक्षक डा. अर्पण पराजुली र प्रहरी वरिष्ठ नायक निरीक्षक विकास शर्माले लागूपदार्थको मानसिक र शारीरिक असर, साइबर क्राइमका नयाँ स्वरूपहरू, र आत्महत्या न्यूनीकरणका उपायबारे विस्तृत जानकारीमूलक प्रस्तुति दिनुभयो।
कार्यक्रममा नगर समन्वय समितिका उपाध्यक्षहरू सती न्यौपाने, विष्णु ढुङ्गाना, उपमहासचिव देव कुमार श्रेष्ठ, सदस्यहरू ज्ञानेन्द्र देवकोटा, लिना पौडेल, तथा टोल विकास संस्था वडा समन्वय समिति, हेटौंडा–११ का अध्यक्ष यज्ञ बहादुर आचार्य लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा टोल विकास संस्थाका प्रतिनिधिहरू, अभिभावकहरू गरी ८५ जनाको सक्रिय सहभागिता रहेको छ ।