मकवानपुर । हेटौंडा उपमहानगरपालिका–६ स्थित गौरीटारमा निर्माण सम्पन्न फुटबल रंगशालाको औपचारिक उद्घाटन गरिएको छ। बुधबार एक विशेष समारोहका बीच बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले रंगशालाको उद्घाटन गर्नुभयो।
१४ करोड रुपैयाँको लागतमा निर्माण गरिएको उक्त रंगशाला सामाजिक विकास मन्त्रालयको पहलमा सम्पन्न गरिएको हो। रंगशालामा २,८५० दर्शक क्षमताको प्यारापिटसहितको पूर्वाधार तयार गरिएको छ, जसले क्षेत्रीय तथा राष्ट्रियस्तरका खेल आयोजनाको सम्भावनालाई बलियो बनाएको छ।
उद्घाटन समारोहमा मुख्यमन्त्री लामाले खेलकूदलाई राष्ट्र निर्माणको आधारका रूपमा व्याख्या गर्दै भने, “खेल मैदान मात्र होइन, यो एक प्रशिक्षण केन्द्र बन्नु पर्छ जहाँ भविष्यका राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन हुन्छन्।”
उहाँले विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो र पेलेको उदाहरण दिँदै खेलकुदले व्यक्तिको मात्र होइन, राष्ट्रको पनि पहिचान बनाउने उल्लेख गर्नुभयो। “यहाँबाट उत्पादन हुने खेलाडीले प्रदेशको मात्रै होइन, समग्र राष्ट्रको शान बढाउनु पर्छ,” उहाँले जोड दिनुभयो।
उक्त रंगशाला हेटौंडा उपमहानगर भित्रको महत्वपूर्ण खेल पूर्वाधारको रूपमा विकास भएको बताइएको छ। स्थानीय तथा प्रदेश सरकारको सहकार्यमा आगामी दिनमा रंगशालालाई अझ स्तरीय बनाउने योजना पनि अगाडि सारिएको छ।































