संघीय प्रहरी ऐन अभावमा प्रदेश प्रहरीको भूमिका अस्पष्ट : मन्त्री लामिछाने

मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले संविधानले प्रत्यायोजित अधिकारको कार्यान्वयन अझै पूर्ण रूपमा हुन नसकेको बताउँदै संघीय प्रहरी ऐनको अभावले प्रदेश प्रहरीको भूमिकामा अन्योलता सिर्जना भएको स्पष्ट पार्नुभयो।

जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसरमा नवनिर्मित सुविधा सम्पन्न महिला प्रहरी ब्यारेक भवनको उद्घाटन गर्दै मन्त्री लामिछानेले प्रहरी संगठनलाई प्रभावकारी बनाउने लागि आवश्यक कानुन, नीति, रणनीति र योजना स्पष्ट रूपमा परिभाषित हुनुपर्नेमा जोड दिनुभयो। उहाँले प्रदेश प्रहरीको प्रभावकारिता र संघीयताको सफल कार्यान्वयनका लागि सबै पक्ष गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

मन्त्री लामिछानेले हटियामा निर्माण हुन लागेको प्रदेश प्रहरी अस्पताललाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी गराउँदै चालु आर्थिक वर्षमा उक्त परियोजनाका लागि चार करोड रुपैयाँ बजेट विनियोजन गरिएको उल्लेख गर्नुभयो।

उहाँका अनुसार, प्रदेश सरकारले २०७५ सालदेखि नेपाल प्रहरीका भौतिक पूर्वाधार निर्माणमा निरन्तर लगानी गर्दै आएको छ। हालसम्म ३ अर्ब ४७ करोड २२ लाख रुपैयाँ लगानी भइसकेको जानकारी पनि मन्त्री लामिछानेले दिनुभयो।

चालु आर्थिक वर्षमा मात्र १८ वटा नयाँ प्रहरी भवन निर्माणका लागि १० करोड ४४ लाख रुपैयाँ तथा संरचनागत सुधारका लागि ३ करोड १३ लाख रुपैयाँ विनियोजन गरिएको छ। उद्घाटन गरिएको तीन तले महिला प्रहरी ब्यारेक भवन एक करोड ९५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख ललित घलान, मन्त्रालयका सचिव कृष्णबहादुर शाही, हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, उपप्रमुख राजेश बानियाँ, तथा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.