हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले हेटौंडा क्षेत्रका विभिन्न स्थानमा भइरहेको अघोषित लोडसेडिङविरुद्ध नेपाल विद्युत प्राधिकरण मकवानपुर शाखामा ज्ञापनपत्र बुझाएको छ।
रास्वपाका RAT संयोजक महेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा हेटौंडा क्षेत्र, आसपासको बजार र अन्य क्षेत्रहरूमा दिन र रातको समयमा पटक–पटक लोडसेडिङ हुँदा सर्वसाधारणदेखि व्यापार व्यवसायमा समेत गम्भीर असर परेको उल्लेख गरिएको छ।
ज्ञापनपत्रमा विद्युत आपूर्ति व्यवस्थापनमा देखिएको चरम बेवास्ता र लापरवाहीले जनजीवन कष्टकर बनेको भन्दै तत्काल समाधान गर्न माग गरिएको छ। साथै, तत्काल सुधार नगरिए आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिइएको छ।
ज्ञापनपत्र बुझ्दै नेपाल विद्युत प्राधिकरण मकवानपुर शाखाका वितरण प्रमुख शिवराम यादवले अबदेखि लोडसेडिङ नहुने र हाल देखिएका कमजोरी तुरुन्तै सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।