हेटौंडा । बागमती प्रदेश सरकारले हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने निर्णयविरुद्ध ९ वटा विभिन्न राजनीतिक र सामाजिक संघसंस्थाहरूले संयुक्त रूपमा विरोध जनाएका छन्। वैशाख १ गते जारी संयुक्त प्रेस विज्ञप्तिमा उनीहरूले हेटौंडा अस्पताललाई स्वतन्त्र अस्तित्वमा सञ्चालन गर्न माग गरेका छन्।
अखिल (समाजवादी) मकवानपुरका अध्यक्ष सुबास सी, समाजवादी विद्यार्थी युनियन मकवानपुरका अध्यक्ष सोम गोले, अनेरास्ववियु मकवानपुरका अध्यक्ष अरुण बर्तौला, अखिल (क्रान्तिकारी) मकवानपुरका अध्यक्ष बुद्ध अर्याल, युवा संघ नेपाल मकवानपुरका अध्यक्ष किरणमान बल, युवा संगठन नेपाल मकवानपुरका अध्यक्ष रमेश सी, RAT मकवानपुरका संयोजक महेशकुमार श्रेष्ठ, नेपाल तरुण दल हेउनपा मकवानपुरका उपाध्यक्ष हेमन्त थापा र समाजवादी युवा संघका सचिव ज्ञानबहादुर थिङद्वारा हस्ताक्षरित विज्ञप्ति सार्वजनिक भएको हो ।
संयुक्त विज्ञप्तिमा अस्पतालको ६६ वर्षे इतिहास र जनताको पहुँचमा रहेको गुणस्तरीय सेवा बन्द हुन नदिनुपर्ने उल्लेख छ। बागमती प्रदेश सरकारले संसदबाट पास गरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत अस्पताल सञ्चालन गर्न खोजेको निर्णय जनविरोधी भएको ठहर गर्दै, हेटौंडावासी जनतासँग मिलेर आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिइएको छ।
गत मंसिर २९ गतेदेखि सुरु गरिएको नागरिक आन्दोलन अन्तर्गत भएका सांकेतिक विरोध, प्रदर्शन, मशाल जुलुस, मानव साङ्लो लगायतका कार्यक्रमहरू सफल भएको उल्लेख गर्दै आन्दोलन अझै तीव्र बनाइने उल्लेख गरिएको छ। साथै, युवाहरूको सहभागिता र जनताबाट प्राप्त समर्थनले आन्दोलनमा ऊर्जा थपिएको उनीहरूको भनाइ छ।
उनीहरूले आन्दोलनका थप कार्यक्रम चाँडै सार्वजनिक गर्ने जनाएका छन्।































