पत्रकार रजकको हत्या: निष्पक्ष छानबिनको माग गर्दै मानवअधिकार आयोगमा ध्यानाकर्षण

हेटौंडा । पत्रकार सुरेश रजकको हत्या केवल प्रेस स्वतन्त्रतामाथिको आक्रमण होइन, मानवअधिकारको गम्भीर उल्लंघनसमेत भएको भन्दै नेपाल पत्रकार महासंघ मकवानपुरले राष्ट्रिय मानवअधिकार आयोग, बागमती प्रदेश कार्यालयको ध्यानाकर्षण गराएको छ।

शुक्रबार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको नेतृत्वमा आयोगको कार्यालय पुगेको प्रतिनिधिमण्डलले आयोगका निमित्त प्रमुख पवनकुमार भट्टलाई ध्यानाकर्षण पत्र बुझाएको हो। प्रतिनिधिमण्डलले पत्रकार रजकको हत्या पछिको पत्रकारिता क्षेत्रको असुरक्षा, भय र अन्योल अन्त्य गर्न निष्पक्ष तथा स्वतन्त्र छानबिन आवश्यक रहेकोमा जोड दिएको छ।

महासंघले रजकको हत्यासँगै पछिल्लो समय हिंसात्मक प्रदर्शनको क्रममा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएका आक्रमणप्रति पनि चिन्ता व्यक्त गर्दै आयोगलाई छिटोछरितो अनुसन्धान अघि बढाउन आग्रह गरेको छ।

“पत्रकारिता लोकतन्त्रको आधारशिला हो। पत्रकारमाथिको आक्रमण केवल व्यक्तिविशेषमाथिको होइन, जनताको सूचना पाउने अधिकारमाथि पनि हमला हो,” अध्यक्ष अधिकारीले भने, “त्यसैले पत्रकारको सुरक्षा सुनिश्चित गर्नु मानवअधिकारको रक्षा गर्न आवश्यक छ।”

राष्ट्रिय मानवअधिकार आयोग, बागमती प्रदेश कार्यालयले घटनाप्रति गम्भीर चासो लिएको र आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.