मकवानपुर । सरकारी हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने सरकारी निर्णयको विरोध गर्दै हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियानले गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ।
आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत गृहमन्त्रालयलाई ज्ञापन पत्र बुझाइएको हो । अभियानका संयोजक विशालराज महतद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा हेटौंडा अस्पतालको सम्पूर्ण जमिन, भवन, संरचना, उपकरण तथा स्रोतसाधनलाई पूर्ण रूपमा सरकारी स्वामित्वमै राख्नुपर्ने माग गरिएको छ। संविधान र संघीय कानुनअनुसार सरकारी अस्पतालको सम्पत्ति कुनै संस्थामा गाभ्न नमिल्ने भन्दै अभियानले सरकारको निर्णय फिर्ता लिन आग्रह गरेको छ।
अभियानले २०८१ फागुन ११ गतेदेखि एक सातासम्म हेटौँडामा नागरिकहरुबाट संकलन गरिएको ४ हजार हस्ताक्षर समर्थनसहित ज्ञापनपत्र बुझाएको उल्लेख गरिएको छ।
ज्ञापनपत्रमा हेटौंडा अस्पताललाई सरकारी सम्पत्तिसहित गाभ्ने निर्णय खारेज गर्न, अस्पताललाई पूर्ण रूपमा सरकारी स्वामित्वमा राख्न, ऐन संशोधन गरी सरकारी अस्पताल गाभ्ने व्यवस्था हटाउन, र हाल अस्पतालसँग जोडिएको संघसंस्थाको बोर्ड हटाउन माग गरिएको छ।
अभियानले सरकारी हेटौंडा अस्पताललाई सुदृढ गर्दै सर्वसाधारण नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ। हेर्नुहोस् पत्र–