मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं. १५, सयफुटमा नयाँ खानेपानी ट्याङ्की निर्माणको शिलान्यास गरिएको छ। वडा अध्यक्ष सुनिल मुक्तानको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा खानेपानी व्यवस्थापन बोर्डका कार्यालय प्रमुख विष्णु प्रसाद सापकोटा, बोर्ड अध्यक्ष प्रताप विष्ट, तथा सूचना अधिकारी संजय न्यौपाने विशेष अतिथिका रूपमा उपस्थित थिए।
करिब १० करोड रुपैयाँ लागत अनुमान गरिएको यस योजनाअन्तर्गत सयफुटमा १ लाख लिटर क्षमताको खानेपानी ट्याङ्की तथा ठुलो सुकौलीमा ३ लाख लिटर क्षमताको ट्याङ्की निर्माण गरिनेछ। अध्यक्ष मुक्तानका अनुसार साबिक चुरियामाई–३ र ४ अन्तर्गत रातोमाटे, ठुलो सुकौली, दमार, सानो सुकौली र सयफुट क्षेत्रका स्थानीयवासीलाई योजना लाभदायी हुने छ।
सयफुटमा निर्माण हुने ट्याङ्कीबाट करिब १,००० जना स्थानीयले स्वच्छ खानेपानी उपभोग गर्न सक्नेछन्। विगतमा पानी अभावका कारण ३ नम्बर पुलसम्म पुगेर पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेकोमा नयाँ आयोजना सुरु भएपछि सहज रूपमा शुद्ध पानी उपलब्ध हुने आशा गरिएको छ।
स्थानीय बासिन्दाले यस आयोजनाप्रति खुसी व्यक्त गर्दै वडा सरकार तथा खानेपानी बोर्डको पहलप्रति आभार व्यक्त गरेका छन्। कार्यक्रममा वडा सदस्यहरू तथा टोल विकास संस्थाका अध्यक्षहरूको उपस्थिति रहेको थियो।