मकवानपुर । हेटौंडाका दुई ठुला विद्यालय एकिकरण गरी मेगा विद्यालय बनाउने सम्बन्धि विषयमा आवश्यक प्रक्रिया अघि बढेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा अवस्थित श्री भुटनदेवी मा.वि र आधुनिक राष्ट्रिय मा.विलाई एकिकरण गरी मेगा विद्यालय बनाउन दुबै विद्यालयले आवश्यक प्रक्रिया अघि बढाएको हो ।
मंगलबार दुबै विद्यालयको व्यवस्थापन समितिको निर्णय र वडा कार्यालयको सिफारिससहित वडा अध्यक्ष नवीन सिग्देल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक सहितको समुहले नगर प्रमुख मिनाकुमारी लामा समक्ष आवश्यक पत्र पेश गरेका छन् । शिक्षा मन्त्रालयले ‘बिग स्कुल’को अवधारणामा छलफल चलाउन थालेपछि हेटौंडाका यी दुई ठुला विद्यालयलाई एकीकृत गर्ने विषयमा छलफल सुरु भएको थियो ।
आधुनिक राष्ट्रिय मा.विमा करिब २ हजार ८ सय विद्यार्थीहरु अध्यरत छन् भने भुटनदेवी मा.विमा २ हजार २ सय विद्यार्थीहरु अध्ययनरत छन् । जसअनुसार यी विद्यालय एकीकृत हुँदा ५ हजार विद्यार्थी हुनेछन् ।
यी दुई ठुला विद्यालय एकीकृत गरी मेघा विद्यालय सञ्चालन गर्दा गुणस्तरीय शिक्षा दिन सकिने, प्रशासनिक खर्च कम हुने, सामुदायिक विद्यालयप्रतिको विश्वसनीयता बढ्ने, हेटौंडालाई शैक्षिक हबको रुपमा विकास गर्न सकिने भुटनदेवी मा.विका विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका वडा नम्बर–४ का वडाअध्यक्ष नवीन सिग्देलले बताए ।