मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं साधारण सभा तथा निर्वाचनको पूर्वसन्ध्यामा संघका उपाध्यक्ष प्रमोद सिंह रानाभाटले संघको अध्यक्ष पदका लागि औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
बुधबार हेटौँडाको पल्पसा रोडस्थित एक कार्यक्रममार्फत रानाभाटले आफ्नो उम्मेदवारी घोषणा गर्नुका साथै नयाँ सचिवालयको उद्घाटन गरेका छन्। सचिवालयको उनका पिता डम्बर बहादुर रानाभाटले रिबन काटेर औपचारिक उद्घाटन गरे ।
सचिवालय उद्घाटन कार्यक्रममा उपस्थित व्यावसायी तथा संघका सदस्यहरूमाझ बोल्दै रानाभाटले व्यवसायीको हकहित र आर्थिक विकासका लागि आफ्नो सक्रिय भूमिका रहने प्रतिवद्धता जनाए। उनले व्यवसायीका समस्याहरूको सम्बोधन गर्दै संस्थालाई थप उचाइमा पुर्याउने लक्ष्यका साथ अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए।
रानाभाटले कार्यक्रममा भने, “संघको नेतृत्व व्यवसायी नै गर्नुपर्छ। हामीले व्यवसायीका हकहितका लागि ठोस योजना बनाएर अघि बढ्नुपर्छ। संघलाई समृद्ध र प्रभावकारी बनाउन म निरन्तर क्रियाशील रहनेछु।”
रानाभाट अहिले मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष हुन्। उनी लामो समयदेखि मकवानपुरको व्यवसायी समुदायसँग निकट रहेर काम गर्दै आएका छन्। संघलाई व्यवस्थित र आर्थिक गतिविधिमा थप प्रभावकारी बनाउने योजनाका साथ अध्यक्ष पदमा उम्मेदवारी दिएको उनले बताए।
मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं साधारण सभा तथा निर्वाचन पुष २४ देखी २७ गते हुने छ ।