मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ मा रिक्त वडाध्यक्ष पदमा हुने उपनिर्वाचनमा १५ सयभन्दा बढी नयाँ मतदाताले सहभागीता जनाउने भएका छन् । यही मंसिर १६ गते हुने वडाध्यक्ष पदको उपनिर्वाचनमा एक हजार ५ सय ८८ जना नयाँ मतदाताले सहभागीता जनाउने भएका हुन् । तीमध्ये एक जना अल्पसंख्यक (तेस्रो लिङ्गी) रहेको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।
कार्यालय हेटौंडाका प्रमुख हरिप्रसाद ढकालका अनुसार, नयाँ थपिएसँगै आसन्न उपनिर्वाचनमा कुल ८ हजार ५ सय ५३ जना मतदाताले सहभागीता जनाउनेछन् । जसमा जसमा ४ हजार १ सय ७४ महिला र ३ हजार ८ सय ७८ पुरुष छन् । उपनिर्वाचनको लागि दुई वडा मतदानस्थल तोकिएको छ । प्रतिभा मावि केन्द्र सिग्रेनी र भोर्लेस्थित विष्णु ज्योती आर्दश माविलाई मतदान केन्द्र तोकिएको छ ।
निर्वाचन अधिकृत भट्टराईले प्रतिमा आजी माविमा महिलातर्फ २ हजार ३ सय १५, पुरुषतर्फ २ हजार १ सय १२ र अल्पसंख्यक (तेस्रो लिङ्गी) एक जना मतदाता रहेका छन् । उक्त केन्द्रमा ५ वटा उपकेन्द्र रहने व्यवस्था गरिएको छ ।
गत २०७९ को निर्वाचनमा वडाध्यक्षमा निर्वाचित नेकपा माओवादी केन्द्रका उम्मेदवार ललित घलान जिल्ला समन्वय समिति (जिसस) को प्रमुख बनेपछि उक्त पद रिक्त रहेको थियो । रिक्त सो पदमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको लागि मंसिर २ गते आइतबार १४ जनाले मनोनयन दर्ता गराएका छन् । उपनिर्वाचन अन्तरगत ९ जनाले राजनीतिक दलको तर्फबाट र ५ जनाले स्वतन्त्र मनोनयन पत्र दर्ता गराएका हुन् ।
वडाध्यक्ष पदका लागि नेपाली कांग्रेसको तर्फबाट अर्जुन प्रसाद तिवारी, नेकपा एमालेबाट राजेश नगरकोटी, नेकपा माओवादी केन्द्रको तर्फबाट रविन प्रधान, राप्रपाको तर्फबाट प्रेमबहादुर भ्लोन लामा, नेकपा एकीकृत समाजवादीको तर्फकाट बलराम बल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आशाबीर बल, नेमकिपाबाट फुलमाया तितुङ र जसपाबाट छबिलाल वाइबा, दीपा लामाले पनि मनोनयन पत्र दर्ता गराएका छन् ।
यसैगरी, स्वतन्त्र तर्फबाट युनेश लामा स्याङ्तान, अर्जुन घलान, कुमार पोखरेल, गीता कुमारी नेवार र छत्रप्रकाश अधिकारीले वडाध्यक्ष पदका लागि मनोनयन पत्र दर्ता गराएका छन् ।