मकवानपुर । मकवानपुरको हेटौंडामा ‘उपमहानगरपालिका स्तरिय हेटौंडा रन २०८१’ हुने भएको छ । मंसिर ४ गते मंगलबार हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।
प्रतियोगितामा नगर भित्रका १६ वर्ष पूरा भएका इच्छुकले सहभागिता जनाउन सक्नेछन् । कार्यक्रमलाई मंगलबार विहान ७ बजे हेटौंडाको बुद्धचोकमा उद्धाटन गरिने खेलकुद बिकास समितिका अध्यक्ष रबिद्र घिमिरेले बताए।
हेटौंडाको बुद्धचोक हुँदै भैरवरोड, लक्ष्मि आधारभूत विद्यालय स्कुल, सुर्यचोक, नवोदय स्कुल पार गर्दै, सत्यमचोक, थाहाचोक, सितलमहल चोक, ओमभवन हुँदै पुन बुद्धचोकमा आएर समापन हुने दौड ५ किलोमिटर दुरीको हुने बताइएको छ ।
३ लाख रुपैँयाको लागतमा हुने प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार, द्वितिय पुरस्कार १५ हजार, तृतीय पुरस्कार १० हजार, सान्त्वना पुरस्कार ५ हजार, पाचौँ पुरस्कार ३ हजार र प्रोत्साहन पुरस्कार स्वरुप २ जनालाई ४ हजार रुपैँया प्रदान गरिने बताइएको छ ।
खेल नेपाल ऐथ्लेटिक्स संघको नियमानुसार हुनेछ । साथै दिर्घरोगि तथा विरामी प्रतियोगिहरुलाई दौडमा सहभागि नगराइने आयोजकले जनाएको छ ।