मकवानपुर । मकवानपुरको आग्रामा विक्रम सम्वत् २००२ साल बैशाख ३ गते जन्मेका (कमल बहादुरका नाति , कृष्णबहादुर र तुलसाका छोरा) गणेश बहादुर विश्वकर्माले हजुरबुवाको पालादेखी सिकेको सीप फलामबाट खुकुरी, कोदालो, हसिँया, कँचिया, बन्चरो लागायत उपभोग्य सामाग्री बनाउने कामलाई निरन्तरता दिँदै आएका छन् ।
हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा, सिमल्टार निवासी विश्वकर्माले आफ्नै निवासमा आरन संचालनमा ल्याएका छन् । उमेरले ८ दशक हाराहारीमा पुग्दापनि उनी अझै आफ्नै कमाइबाट आफ्नो र परिवारको पेट पाल्दै आएका छन् । पितापुर्खादेखि चलिआएको कामलाई चटक्कै छोड्दा धेरैले दुःख भोग्नुपरेको उनको बुझाइ छ । ‘धेरै युवा वैदेशिक रोजगारीको लागि भन्दै विदेश जान्छन् र सामान्य काम गरेर पैसा कमाउछन् । उनीहरुको पनि धेरै उन्नति भएको मैले पाएको छैन ।’ विश्वकर्मा भन्छन् । नेपालमा सीपको कदर नभएको उनी बताउँछन् ।
दुई श्रीमतीका पति, १३ सन्तानका पिता गणेशबहादुर विश्वकर्मा ले परम्परागत पेसालाई निरन्तरता दिँदा परिवार पाल्न सजिलो भएको बताउँछन । पहिलो श्रीमति हिरामायाबाट ६ भाइ छोरा र ३ वटि छोरी जन्मिए । हिरामायाको देहान्तपछि उनले ठुलीमायासंग बिवाह गरे । ठुलीमायापट्टी ३ वटी छोरी र १ वटा छोरा छन् । १३ वटै छोराछोरी आ–आफ्नो लाइनमा छन् । कोही वैदेशिक रोजगारीको लागि विदेशमा छन्, कतिले सुन पसल गरेका छन् । प्राय सबैको घर र पेसा छन् ।
काम काम नै हो, काम सानो ठूलो हुँदैन भन्ने मान्यता राख्ने विश्वकर्मालाइ आरनमा के–के बनाउनुहुन्छ भनेर प्रश्न गर्दा उनी भन्छन् , ‘अहिले त अलि स्वास्थ्यले त्यति साथ दिएको छैन, नत्र म तामा, पित्तल को भाँडा, गाग्री बनाउन जान्दछु । एकताका हेटौंडा १ चौकिटोलमा आल्मुनियमको भाँडा बनाउने फ्याक्ट्री समेत संचालन गरेको थिएँ । यो कामचाँही मैले बिरगन्जमा आल्मुनियम फ्याक्ट्रीमा काम गरेर सिकेको काम हो त्यसमा घाटा लागेपछि फ्याक्ट्री बन्द गर्नुपर्ने भयो र चौकिटोलको घर बेचेर अहिले सिमलटारमा आइ यो पेशा अङ्गालेको छु । त्यसको अलावा फर्निचरको काम प्राय गर्छु, अलि–अलि लुगा पनि सिलाउँछु।’
आफ्नो सीपलाइ माया गर्न सके पुस्तौँपुस्ता सम्मलाई हुन्छ । सीप सँगसगै पढाइ पनि भैदियो भने अझै राम्रोसंग जीवन निर्वाह हुने उनको विश्वास छ । क्रिश्चियन धर्म अङ्गालेका उनले पढ्ने रहरले धेरै समयको प्रयासपछि बाइबल धर्म शास्त्र पढ्न सकेको बताउँछन् । ‘‘कामको कुरो गर्नपर्दा यो उमेरसम्म छोराछोरीको आशमा बस्नुपर्ने बाध्यता आएको छैन, जेनतेन चलेकै छ । ’’ उनले भने ।