मकवानपुर । तामाङ भाषा र नेपाली भाषामा बनेको चलचित्र ‘ग्याल्बो राजा’ टिमले प्रदर्शनका लागि प्रचार प्रसार तिव्र पारेको छ । नेपालका विभिन्न हलहरुमा विशेष शो गरिसकेको यो चलचित्र असोज १७ गतेदेखि १९ गते ३ दिनसम्म मकवानपुरको हेटौँडामा अवस्थित ओम्याक्स सिनेमा हलमा विशेष प्रदर्शन हुँदैछ । चलचित्रको प्रचार प्रसारका लागि अहिले चलचित्र टिम नै लागिपरेको छ ।
चलचित्रकी नायिका तथा प्रस्तुतकर्ता संगिता तितुङका अनुसार चलचित्रको प्रचार प्रसारका लागि अहिले हेटौँडाको ओम्याक्स हल तथा विभिन्न सवारी साधन र स्थानहरुमा चलचित्रको पोष्टर टाँसिएको छ । साथै विभिन्न संचार माध्यमबाट पनि यसको प्रचार प्रसारको क्रम तिव्र पारिएको छ ।
चलचित्रको विशेष प्रदर्शन बारे थप जानकारी दिनका लागि असोज ५ गते शनिबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना समेत गरिएको चलचित्रका नायक विनायक तामाङले बताए । कान्तिराजपथस्थित रेड पाण्डा रेष्टुरेन्टमा बिहान ८ बजे पत्रकार सम्मेलन गरिने छ । पत्रकार सम्मेलनमा चलचित्रको ट्रेलर समेत रिलिज गरिने तामाङले बताए । ओम्याक्स हलमा हुने विशेष शोमा पुगेका दर्शकहरुलाई लक्की ड्रबाट विशेष पुरस्कार पनि दिईने उनले बताए ।
चलचित्रका कार्यकारी निर्माता किताबसिंह घलानका अनुसार ओम्याक्स हलमा तामाङ भाषामा चलचित्र प्रदर्शन हुनेछ । हरेक दिन बिहान ८ः३० बजेको पहिलो शोमा चलचित्र प्रदर्शन हुनेछ । उनका अनुसार दर्शकहरुले निर्माण टोली तथा हलबाट पनि शोका लागि टिकट लिन सक्नेछन् ।

अङ्ग्रेजीमा ‘किङ इज किङ’ नाम राखिएको यो चलचित्रको नेपाली भर्सन भने २०८१ कात्तिक ९ अर्थात अक्टोबर २५ देखि अल नेपाल रिलिज हुनेछ । कालिदेवी मिडिया हाउसको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई यस अघि पनि देशका विभिन्न हलहरुमा विशेष प्रदर्शन गरिएको थियो ।
चलचित्रको निर्देशन बिनायक तामाङले गरेका हुन् । प्रेम भाव, तामाङ कला संस्कृति र ऐतिहासिक कथा बोकेको चलचित्रमा नायिका संगीता तितुङको कथा रहेको छ । सन्चु लामा थोकरको छायांकन रहेको चलचित्रमा रेशम कुमार स्याउली तामाङको कला निर्देशन, राजु किराँतको द्वन्द निर्देशन र उत्तम शिशिर श्रेष्ठ र सागर गोलेको नृत्य निर्देशन रहेको छ ।
चलचित्रको कार्यकारी निर्मातामा किताबसिंह घलान (किरण) रहेका छन् । चलचित्रमा सँगिता तितुङ, विनायक तामाङ, अर्जुन गुरुङ (भंगेरी डन), मायादेवी मोक्तान, रमेश स्याङ्तान, सञ्चबिर तामाङ, राजु नेगी, संजय लामा, सविन तामाङ, सागर तामाङ, किताप सिंह घलान (किरण), नोर्बो तामाङ, किशोर श्रेष्ठ र हाँस्य कलाकार तिरे लगायतले अभिनय गरेका छन् ।
यसअघि नै ग्याल्बो राजाका २ गीतहरु नेपाली र तामाङ भाषामा सार्वजनिक भएका थिए । जसले निक्कै चर्चा समेत कमाएको थियो । ग्याल्बो राजाको ‘आम्मैले’ बोलको गीत तामाङ र नेपाली दुबै भाषामा सोही टाईटलबाट सार्वजनिक भएको थियो । त्यस्तै चलचित्रको अर्को चर्चित गीत ‘ङादा माया लाउ’ बोलको गीत नेपाली भाषामा ‘मेरो दिलको हर कुनामा’ शिर्षकबाट सार्वजनिक भएको थियो । आम्मैले बोलको गीतको दुबै भर्सनमा गायक विश्व दोङको आवाज, संगीत र एरेञ्ज रहेको छ । गीतमा कुमार स्याङ्बाको शब्द रहेको छ ।
त्यस्तै तामाङ भाषामा सार्वजनिक भएको ‘ङादा माया लाउ’ बोलको गीतमा निमा दोङ र जीतु लोप्चनको आवाज रहेको छ । गीतमा निमा दोङको संगीत र कुमार स्याङ्बाको शब्द रहेको छ । यसै गीतको नेपाली भर्सनमा भने चर्चित गायक निमा दोङ र चर्चित गायिका रचना रिमालको आवाज रहेको छ । यस गीतको शब्द पनि कुमार स्याङ्बाले नै लेखेका हुन् ।



































































