तामाङ चलचित्र ‘ग्याल्बो राजा’ हेटौँडाको ओम्याक्स हलमा ३ दिन प्रदर्शन हुने

मकवानपुर । तामाङ भाषा र नेपाली भाषामा बनेको चलचित्र ‘ग्याल्बो राजा’ मकवानपुरको हेटौँडामा अवस्थित ओम्याक्स सिनेमा हलमा ३ दिन प्रदर्शन हुने भएको छ । चलचित्रका कार्यकारी निर्माता तथा कलाकार किताब सिं घलान (किरण) का अनुसार चलचित्र असोज १७ गतेदेखि १९ गतेसम्म प्रदर्शन गरिन लागिएको हो ।

कार्यकारी निर्माता घलानका अनुसार ओम्याक्स हलमा तामाङ भाषामा चलचित्र प्रदर्शन हुनेछ । हरेक दिन बिहान ८ः३० बजेको पहिलो शोमा चलचित्र प्रदर्शन हुनेछ । उनका अनुसार दर्शकहरुले निर्माण टोली तथा हलबाट पनि शोका लागि टिकट लिन सक्नेछन् ।

अङ्ग्रेजीमा ‘किङ इज किङ’ नाम राखिएको यो चलचित्रको नेपाली भर्सन भने २०८१ कात्तिक ९ अर्थात अक्टोबर २५ देखि अल नेपाल रिलिज हुनेछ । कालिदेवी मिडिया हाउसको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई यस अघि पनि देशका विभिन्न हलहरुमा विशेष प्रदर्शन गरिएको थियो ।

चलचित्रको निर्देशन बिनायक तामाङले गरेका हुन् । प्रेम भाव, तामाङ कला संस्कृति र ऐतिहासिक कथा बोकेको चलचित्रमा नायिका संगीता तितुङको कथा रहेको छ । सन्चु लामा थोकरको छायांकन रहेको चलचित्रमा रेशम कुमार स्याउली तामाङको कला निर्देशन, राजु किराँतको द्वन्द निर्देशन र उत्तम शिशिर श्रेष्ठ र सागर गोलेको नृत्य निर्देशन रहेको छ ।

चलचित्रको कार्यकारी निर्मातामा कितापसिंह घलान (किरण) रहेका छन् । चलचित्रमा अर्जुन गुरुङ (भंगेरी डन), सँगिता तितुङ, विनायक तामाङ, मायादेवी मोक्तान, रमेश स्याङ्तान, सञ्चबिर तामाङ, राजु नेगी, संजय लामा, सविन तामाङ, सागर तामाङ, किताप सिंह घलान (किरण), नोर्बो तामाङ, किशोर श्रेष्ठ र हाँस्य कलाकार तिरे लगायतले अभिनय गरेका छन् ।

यसअघि नै ग्याल्बो राजाका २ गीतहरु नेपाली र तामाङ भाषामा सार्वजनिक भएका थिए । जसले निक्कै चर्चा समेत कमाएको थियो । ग्याल्बो राजाको ‘आम्मैले’ बोलको गीत तामाङ र नेपाली दुबै भाषामा सोही टाईटलबाट सार्वजनिक भएको थियो । त्यस्तै चलचित्रको अर्को चर्चित गीत ‘ङादा माया लाउ’ बोलको गीत नेपाली भाषामा ‘मेरो दिलको हर कुनामा’ शिर्षकबाट सार्वजनिक भएको थियो । आम्मैले बोलको गीतको दुबै भर्सनमा गायक विश्व दोङको आवाज, संगीत र एरेञ्ज रहेको छ । गीतमा कुमार स्याङ्बाको शब्द रहेको छ ।

त्यस्तै तामाङ भाषामा सार्वजनिक भएको ‘ङादा माया लाउ’ बोलको गीतमा निमा दोङ र जीतु लोप्चनको आवाज रहेको छ । गीतमा निमा दोङको संगीत र कुमार स्याङ्बाको शब्द रहेको छ । यसै गीतको नेपाली भर्सनमा भने चर्चित गायक निमा दोङ र चर्चित गायिका रचना रिमालको आवाज रहेको छ । यस गीतको शब्द पनि कुमार स्याङ्बाले नै लेखेका हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.