मकवानपुर । मकवानपुरको हेटौंडामा पहिलो पटक लाइभ सेलो साँझ हुने भएको छ । ओपेराईन्फोटेन्ट सिने प्रा.लिको आयोजनामा हुने उक्त लाइभ सेलोबारे आइतबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा प्रालिका संचालक बिक्रम लुङ्बाले अगामी असोजको १९ गते लाइभ सेलो साँझको आयोजना गर्न लागेको बताए ।‘एक तामाङ घर, एक डम्फु’ भन्ने मूल नारासहित मौलिक कला संस्कृति, गीत–संगीत र बाजाको संरक्षण तथा प्रर्वद्धन गर्ने उद्देश्यले उक्त सेलोको आयोजना गर्न लागेको उनले बताए ।
उनका अनुसार, लाइभ सेलो साँझमा तामाङ सेलो जगतको प्रख्यात गायक मकवानपुरका प्रकाश तामाङ तितुङ र प्रख्यात गायिका सुमिना लोको गायन प्रस्तुति रहनेछन् ।
साथै स्थानीय कलाकारहरुको समे प्रस्तुती रहनेछ । हेटौंडा–२ स्थित पल्पसा हलमा दिनको २ बजेदेखि सुरु हुने लाइभ सेलोको प्रवेश शुल्क भने पछि तोकिने आयोजकले जनाएको छ ।
कवानपुर जिल्लामा हुने तामाङ समुदायसँग सम्बन्धित हरेक कार्यक्रममा तामाङ घेदुङ मकवानपुर स्वतः एक सहयोगी संस्थाको रुपमा रहने नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सचीव किरणमान बलले बताए। पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङ मकवानपुर जिल्ला समन्वय समिति सल्लाहकार सानू लामा, उपाध्यक्ष आत्माराम मोक्तान, कोषाध्यक्ष सुरेश लामा, तामाङ कलाकार संघ मकवानपुर सदस्य तथा कार्यक्रम संयोजक हेम कुमार तितुङ,तामाङ पत्रकार संघ मकवानपुर जिल्ला शाखाका उपाध्यक्ष सन्देश थिङ र सेलो गायक तितुङ लगायतको उपस्थिति थियो।





























