एसियन तेक्वान्दो युनियनको गेम्स कमिटी सदस्यमा मकवानपुरका लालकाजी रत्न बज्राचार्य

हेटौँडा । मकवानपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष लालकाजी रत्न बज्राचार्य एसियन तेक्वान्दो युनियन (Asian Taekwondo Union-ATU) को गेम्स कमिटी सदस्यमा नियुक्त हुनुभएको छ। युनियनले उहाँलाई सन् २०२६ को जनवरी १ देखि डिसेम्बर ३१ सम्मका लागि उक्त जिम्मेवारी दिएको हो।

काठमाडौँमा शनिबार आयोजित एक रेफ्री सेमिनारका अवसरमा बज्राचार्यले आफू नियुक्त भएको प्रमाणपत्र प्राप्त गर्नुभएको हो। एसियन तेक्वान्दो युनियनका अध्यक्ष सङ जीन किमले हस्ताक्षर गर्नुभएको उक्त प्रमाणपत्र नेपाल तेक्वान्दो संघले उहाँलाई प्रदान गरेको हो। सन् २०२६ भर एसियन तेक्वान्दो युनियनले आयोजना गर्ने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको व्यवस्थापन र संयोजनमा बज्राचार्यसहित नेपालबाट मनोनित भएका चार जना सदस्यहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।

बज्राचार्यको खेलकुद यात्रा
मकवानपुर जिल्ला तेक्वान्दो संघको दोस्रो कार्यकालको जिम्मेवारी सम्हालिरहनुभएका बज्राचार्य आफैँमा एक पूर्व अन्तर्राष्ट्रिय खेलाडी हुनुहुन्छ। उहाँ राष्ट्रिय रेफ्रीका रूपमा पनि क्रियाशील रहँदै आउनुभएको छ। हेटौँडामा तेक्वान्दो खेलका लागि कभर्ड हल निर्माण गर्न सफल हुनुभएका बज्राचार्य सन् १९९६ मा ताइवान र सन् २००० मा हङकङमा आयोजित बीसौँ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी भई नेपालको प्रतिनिधित्व गरिसक्नुभएको छ।

अन्तर्राष्ट्रिय स्तरको यस महत्वपूर्ण जिम्मेवारीले मकवानपुर मात्र नभई समग्र नेपाली तेक्वान्दो खेलकुदको क्षेत्रलाई थप उचाइमा पुर्‍याउन मद्दत पुग्ने विश्वास खेल क्षेत्रका विज्ञहरूले व्यक्त गरेका छन्।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.