हेटौँडा-४ मा ‘बृहत शैक्षिक मेला-२०८३’ सम्पन्न

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा ‘बृहत शैक्षिक मेला-२०८३’ सम्पन्न भएको छ। शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा आयोजित मेलाको बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभएको हो।

शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा-४ का अध्यक्ष श्रीराम दाहालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरका ३६ भन्दा बढी विद्यालयका विद्यार्थीहरूले विज्ञान प्रदर्शनी, कला, नृत्य तथा विभिन्न सिर्जनात्मक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए।

कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलले भौतिक निर्माण मात्र विकास नभई ‘चेतना’ नै विकासको पहिलो आधार भएको बताउनुभयो। उहाँले भन्नुभयो, “चेतनाको विकास भयो भने सबै सम्भावनाको ढोका खुल्छ। त्यसैले हामी शैक्षिक र बौद्धिक विकासमा लगानी गरिरहेका छौँ।” चौथो संस्करणको रूपमा आयोजना गरिएको यो मेलाले विद्यार्थीहरूमा रहेको अन्तरनिहित प्रतिभा र क्षमतालाई प्रस्फुटन गर्न मद्दत पुग्ने उहाँको विश्वास थियो।

‘प्रविधिमैत्री गुणस्तरीय शिक्षाका लागि लगानी अभिवृद्धि गरौँ’ भन्ने मूल नाराका साथ आयोजित एकदिने मेलामा उत्कृष्ट विज्ञान प्रदर्शनी र नृत्य प्रस्तुत गर्ने विद्यार्थी तथा विद्यालयहरूलाई पुरस्कृत एवं सम्मान गरिएको थियो।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री एकालाल श्रेष्ठ, हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा, वडाका जनप्रतिनिधिहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक, प्रतिनिधि एवं विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.