हेटौँडा । बागमती प्रदेशमा एचआईभी संक्रमण दर क्रमशः घट्दै गएको भए पनि यसको नियन्त्रण र व्यवस्थापनमा भने अझै चुनौतीपूर्ण अवस्था देखिएको छ। संक्रमण न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन भए पनि सामाजिक लाञ्छना, ढिलो परीक्षण र सेवाको पहुँचमा रहेको कमीका कारण पूर्ण सफलता हासिल गर्न बाधा पुगिरहेको सरोकारवालाहरूले औँल्याएका छन्।
स्वास्थ्य निर्देशनालय, बागमती प्रदेशले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेशमा करिब ७ हजार ४ सय जनामा एचआईभी संक्रमण पुष्टि भएको छ। तराईका सीमावर्ती क्षेत्र, काठमाडौँ र चितवनलाई संक्रमणको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ। तथ्यांकअनुसार बागमती प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा २१ हजार २२९ जनामा गरिएको परीक्षणमध्ये ७२७ जनामा संक्रमण देखिएको छ। अघिल्ला वर्षहरूको तुलनामा यो संख्या घट्दो क्रममा भए पनि नयाँ संक्रमित फेला पर्ने क्रम भने रोकिएको छैन।
प्रदेशमा ‘९५–९५–९५’ को लक्ष्य हासिल गर्ने अभियान जारी छ। जसअनुसार हालसम्म ८६ प्रतिशत संक्रमितले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी पाएका छन् भने ९७ प्रतिशत उपचारमा आबद्ध छन्। तर, उपचारमा रहेकामध्ये ८५ प्रतिशतको मात्र भाइरल लोड नियन्त्रणमा आएको निर्देशनालयका जनस्वास्थ्य प्रशासक सन्जु रोईले जानकारी दिनुभयो।
स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको आयोजना तथा एएचएफ (AHF) नेपालको सहकार्यमा सोमबार हेटौँडामा आयोजित सञ्चारकर्मीहरूको अभिमुखीकरण कार्यक्रममा एचआईभी नियन्त्रणमा सञ्चार माध्यमको भूमिकाबारे छलफल गरिएको छ। कार्यक्रममा एएचएफ नेपालका वरिष्ठ कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले एचआईभी संक्रमितको गोपनीयता र उनीहरूको सम्मानजनक जीवनयापनका लागि सञ्चारकर्मीहरूले जिम्मेवार र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सामाजिक कलंकका कारण संक्रमितहरू उपचारबाट विमुख हुने गरेकाले समाजमा चेतना जगाउन सञ्चार माध्यमको भूमिका निर्णायक रहने बताउनुभयो।
यस चुनौतीलाई चिर्न र संक्रमण नियन्त्रणलाई प्रभावकारी बनाउन स्वास्थ्य क्षेत्रका विज्ञहरूले विशेष रणनीतिमा जोड दिएका छन्। स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झाका अनुसार संक्रमणलाई हेर्ने दृष्टिकोणमा व्यापक सुधार ल्याउँदै सामाजिक कलंक हटाउनु नै आजको मुख्य आवश्यकता हो। यसका साथै, जोखिममा रहेका समुदायको पहुँचमा परीक्षण सेवाको दायरा फराकिलो बनाउने र उपचारमा आएका संक्रमितहरूलाई औषधि सेवनमा निरन्तरता दिन प्रोत्साहित गर्ने वातावरण निर्माण गर्नुपर्नेमा उहाँको जोड छ।
हाल बागमती प्रदेशमा १८ वटा एआरटी (ART) र ६ वटा ओएसटी (OST) सेवा केन्द्रमार्फत संक्रमितहरूलाई उपचार र परामर्श दिइँदै आएको छ। मकवानपुरमा मात्रै हालसम्म ९ हजार ५५९ जनाको परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा आमाबाट बच्चामा हुने संक्रमण रोकथाम (PMTCT) का लागि १ लाख १९ हजार भन्दा बढीलाई परामर्श सेवा उपलब्ध गराएको निर्देशनालयले जनाएको छ।



































































