मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–८, बुढीचौरका गृहिणी महिलाहरू मौरीपालनसम्बन्धी एक हप्ते तालिममा सहभागी भएका छन्।
गृहिणी महिला सशक्तिकरण परियोजनाअन्तर्गत नव चेतनशील समाज नेपालले आयोजना गरेको तालिम मकवानपुरगढी गाउँपालिका र बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको साझेदारीमा सञ्चालन भइरहेको हो।
तालिमको उद्घाटन गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले गरे। उद्घाटन समारोहमा बोल्दै अध्यक्ष स्याङ्तानले गृहिणी महिलाहरूलाई उद्यमशील बनाउन तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। “सीप सिकेर उद्यमशील बन्ने विषय चानचुने होइन,” उनले भने, “आफ्नै गाउँमै आएको यो अवसरलाई उपयोग गर्दै आर्थिक आम्दानी बढाउन लागिपर्नुहोस्।”
पालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली पाख्रीनले तालिममार्फत महिलाहरूलाई स्वरोजगार बनाउने अभियानमा पालिका लागिपरेको जानकारी दिइन्। “ब्युटिसियन, ब्याग, गलैँचा बुन्नेजस्ता तालिममार्फत पनि हामी गृहिणीलाई आत्मनिर्भर बनाउने काम गरिरहेका छौँ,” उनले भनिन्।
तालिमको प्रभावकारिता बारेमा वडा नं. ६ का वडाध्यक्ष कृष्णप्रसाद बजगाईं, वडा नं. ८ का अध्यक्ष कुमारसिं घिसिङ र वडा सदस्य गोकुल देवकोटाले पनि आ–आफ्नो धारणा राख्दै महिलाहरूलाई व्यावसायिक मौरीपालनमा अघि बढ्न प्रेरित गरे।
जेठ २५ गते सुरु भएको तालिम ३१ गतेसम्म चल्नेछ। तालिमको सहजीकरण नेपाल मौरीपालक महासंघका केन्द्रीय कोषाध्यक्ष जनकबाबु तिवारीले गरिरहेका छन्, जो विगत २२ वर्षदेखि मौरीपालन व्यवसायमा संलग्न छन्।


































































