स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा र पारिश्रमिकको माग

हेटौंडा । नेपाल स्वास्थ्य स्वयंसेवक संघ (हेभन) ले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सामाजिक सुरक्षा, पारिश्रमिक तथा सेवा सुविधाको सुनिश्चितताका लागि बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ।

संघकी अध्यक्ष बसन्ती महर्जनद्वारा हस्ताक्षरित ज्ञापनपत्र मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बुझाउँदै स्वयंसेविकाहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनुपर्ने, न्यूनतम मासिक पारिश्रमिक तथा भत्ताको व्यवस्था गर्नुपर्ने र सेवा सुविधा सम्बन्धी स्पष्ट कार्यविधि लागू गर्नुपर्ने माग गरिएको छ।

नेपालभर करिब ५२ हजार र बागमती प्रदेशमा करिब ९ हजार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यरत रहेको उल्लेख गर्दै संघले मातृ तथा शिशु स्वास्थ्य, खोप, परिवार नियोजन र स्वास्थ्य सचेतनामा उनीहरूको महत्वपूर्ण योगदान रहेको जनाएको छ।

ज्ञापनपत्रमा सम्मानजनक निवृत्ति सुविधा, नियमित तालिम, स्वास्थ्य सामग्रीको उपलब्धता तथा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वयको व्यवस्था गर्न पनि आग्रह गरिएको छ। साथै स्वयंसेविकालाई “राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य कार्यकर्ता” को मान्यता प्रदान गर्न नीति तथा रणनीति संशोधन गर्न माग गरिएको छ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.