राष्ट्रिय महिला भलिबल : जनशक्तिमाथि सहज जित निकाल्दै न्यू डायमण्ड फाइनलमा

हेटौँडा — हेटौँडामा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा काठमाडौँस्थित न्यू डायमण्ड स्पोर्ट्स क्लबले प्रभावशाली प्रदर्शन गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौँडा–१० स्थित चौरमा सञ्चालन भइरहेको दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवअन्तर्गतको प्रतियोगिताको पहिलो सेमिफाइनलमा न्यू डायमण्डले मधेश प्रदेशको जनशक्ति युवा क्लबलाई सोझो सेटमा पराजित गरेको हो। न्यू डायमण्डले २५–१०, २५–१४ र २५–१८ को नतिजासहित ३–० ले जित निकाल्दै उपाधि नजिक पुगेको छ।

खेलको सुरुदेखि नै दबाब बनाएको न्यू डायमण्डले आक्रामक र सन्तुलित खेल प्रस्तुत गर्दै जनशक्तिलाई कुनै पनि सेटमा फर्कने अवसर दिएन। समूह चरणदेखि नै उत्कृष्ट लयमा देखिएको टोलीले त्यसलाई सेमिफाइनलसम्म निरन्तरता दिएको हो।

अर्को सेमिफाइनलमा लुम्बिनी प्रदेशको स्टेप भलिबल क्लब (पाल्पा) र बागमती प्रदेशको केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानबीचको खेल वर्षाका कारण प्रभावित बनेको छ। उक्त खेल आइतबार बिहान ८ बजे सञ्चालन गरिनेछ भने फाइनल खेल दिउँसो १ बजे तय गरिएको आयोजकका नरेन्द्र मोक्तानले जानकारी दिएका छन्।

समूह ‘ए’ बाट विजेता बन्दै अघि बढेको न्यू डायमण्डले फाइनल यात्रा तय गर्दा समूह ‘बी’ को उपविजेता जनशक्ति युवा क्लब भने अन्तिम चारमै सीमित भएको छ।

प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ। सेमिफाइनलमा पराजित हुने दुई टोलीले जनही ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। उत्कृष्ट विधागत खेलाडीहरूलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिनेछ।

मकवानपुर जिल्ला भलिबल सङ्घ र केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको व्यवस्थापनमा सञ्चालन भइरहेको प्रतियोगितामा ६ वटा टोलीको सहभागिता रहेको छ। साथै, महोत्सवअन्तर्गत बुधबारदेखि शुक्रबारसम्म खुल्ला आमन्त्रित राष्ट्रिय तेक्वान्दो प्रतियोगिता पनि आयोजना गरिने कार्यक्रम रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.