मकवानपुर । भीमफेदी गाउँपालिका–४ स्थित निबुवाटारमा एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। वडा कार्यालयको सिलिङ बजेटको सहयोग तथा निबुवाटार स्वास्थ्य चौकीको आयोजनामा शनिबार सञ्चालन गरिएको शिविरमा स्थानीय नागरिकले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा लिने अवसर पाएका हुन्।
हर्ट फाउन्डेसन मकवानपुरको प्राविधिक सहयोगमा आयोजित शिविरमा चितवन मेडिकल कलेजका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मनोजकुमार श्रेष्ठसहितको चिकित्सक टोलीले बिरामीहरूको परीक्षण तथा परामर्श दिएको थियो। शिविरमार्फत कुल २९३ जना स्थानीय बासिन्दाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
स्वास्थ्य परीक्षणका क्रममा ५ जनामा मुटुसम्बन्धी गम्भीर समस्या देखिएको चिकित्सक टोलीले जनाएको छ। तीमध्ये एक जनालाई तत्काल शल्यक्रियाका लागि अस्पतालमा बोलाइएको जानकारी दिइएको छ।
त्यस्तै महिलाहरूमा गरिएको भीआईए (VIA) परीक्षणका क्रममा ४ जनामा पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्। उनीहरूलाई थप उपचार तथा निगरानीका लागि आवश्यक परामर्श दिइएको छ।
शिविरमा ५४ जनाले दाँतसम्बन्धी जाँच, उपचार तथा परामर्श सेवा समेत लिएका थिए।
कार्यक्रमबारे जानकारी दिँदै वडा अध्यक्ष सागर पाण्डेले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवामा सहज पहुँच दिलाउने उद्देश्यले वडाको बजेटबाट यस्तो कार्यक्रम सञ्चालन गरिएको बताए। उनले रोगको समयमै पहिचान गरी उपचारको अवसर दिलाउने लक्ष्यका साथ शिविर आयोजना गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।



























