हेटौँडा — खेलकुद क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले हेटौँडाको टिसिएन चौरमा भोलि (२९ गते) देखि खेलकुद, कृषि तथा पर्यटन महोत्सव सुरु हुने भएको छ। महोत्सवका अवसरमा विभिन्न ६ विधामा खेलकुद प्रतियोगिता आयोजना गरिने तयारी गरिएको आयोजकले जनाएको छ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानका अनुसार महोत्सव अवधिभर अधिकांश प्रतियोगिता टिसिएन चौरमै सञ्चालन हुनेछन्। कार्यक्रमअन्तर्गत २९ र ३० गते जिल्लास्तरीय ब्याड्मिन्टन प्रतियोगिता तथा २९ गते नै महिला र पुरुषतर्फको १० किलोमिटर दौड प्रतियोगिता आयोजना गरिनेछ। त्यसैगरी, चैत १ देखि ३ गतेसम्म जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता, चैत ४ देखि ८ गतेसम्म राष्ट्रिय महिला भलिबल प्रतियोगिता, चैत ९ र १० गते जिल्लास्तरीय कराते प्रतियोगिता तथा चैत ११ देखि १३ गतेसम्म तेक्वान्दोको राष्ट्रिय प्रतियोगिता हुने जानकारी दिइएको छ।
राष्ट्रिय महिला भलिबल प्रतियोगिताको विजेता टोलीले ३ लाख रुपैयाँ, उपविजेताले २ लाख रुपैयाँ तथा सेमिफाइनल पुग्ने दुई टोलीले जनही ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ भने अन्य विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष मोक्तानले जानकारी दिनुभयो।
त्यसैगरी, जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगितामा विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। सेमिफाइनल पुग्ने टोलीलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार रुपैयाँ नगद पुरस्कार दिइने आयोजक खेलकुद विकास समितिका सदस्य मदन उप्रेतीले बताउनुभयो।
ब्याड्मिन्टन प्रतियोगिता भने हेटौँडा–११ थानाभर्याङस्थित कभर्ड हलमा आयोजना गरिनेछ। उक्त प्रतियोगिताको विजेताले २० हजार, उपविजेताले १० हजार र सान्त्वना स्थान हासिल गर्नेले ५–५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै दौड, तेक्वान्दो र कराते प्रतियोगिताका विजेताहरूलाई पनि नगद, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
चैत १४ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारीलाई तीव्र बनाइएको छ। हाल महोत्सवस्थलमा घेराबारा, स्टेज, स्टल, खेल मैदान, बाल उद्यान लगायतका संरचना निर्माण कार्य भइरहेको छ। महोत्सवबाट बचत हुने रकम मकवानपुर जिल्ला खेलकुद विकास समितिको भवन निर्माण तथा खेल सामग्री खरिदमा खर्च गर्ने आयोजकको लक्ष्य रहेको छ।
महोत्सव सञ्चालनका लागि करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। करिब ४ सय व्यावसायिक स्टल रहने महोत्सवमा खेलकुदसँगै व्यापार, कृषि र पर्यटनलाई एउटै थलोमा जोड्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ। महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति पनि रहनेछ।
यसैबीच महोत्सवका अवसरमा खेल क्षेत्रका १० जना व्यक्तित्वलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गर्ने तयारी गरिएको छ।



































































