समिक्षा कार्यक्रममा निष्कर्ष : मकवानपुरमा प्रतिनिधिसभा निर्वाचन २०८२ शान्तिपूर्ण

Lavc61.3.100

हेटौँडा — प्रतिनिधिसभा निर्वाचन २०८२ मकवानपुरमा शान्तिपूर्ण, व्यवस्थित र मितव्ययी रूपमा सम्पन्न भएको निष्कर्ष निकालिएको छ। दुवै निर्वाचन क्षेत्रको प्रत्यक्ष तथा समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक भइसकेपछि प्रदेश निर्वाचन कार्यालयले बुधबार निर्वाचन समिक्षा कार्यक्रम आयोजना गरेको हो।

जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा सहभागी अधिकांश वक्ताहरूले राजनीतिक दल, सुरक्षा निकाय, कर्मचारी, सञ्चारकर्मी तथा सरोकारवाला सबै पक्षबीचको समन्वय, सहयोग र आचारसंहिताको पालना भएका कारण निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताएका थिए।

कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी, कर्मचारी तथा सुरक्षा निकायको सक्रिय सहयोगका कारण निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताउनुभयो। उहाँका अनुसार दलहरूले आचारसंहिताको पालना गरेका, सञ्चारकर्मीहरूले सन्तुलित र जिम्मेवार ढंगले समाचार सम्प्रेषण गरेका तथा कर्मचारी र सुरक्षा निकायले जिम्मेवारीपूर्वक काम गरेका कारण निर्वाचन व्यवस्थित र मितव्ययी रूपमा सम्पन्न भएको हो। राजनीतिक दलहरूबीच कायम रहेको सद्भाव र सहकार्यले निर्वाचन व्यवस्थापनलाई थप सहज बनाएको उहाँले उल्लेख गर्नुभयो।

निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यले मकवानपुरमा सम्पन्न निर्वाचन अन्य जिल्लाका लागि समेत अनुकरणीय उदाहरण बनेको बताउनुभयो। सुरुमा केही स्थानमा आचारसंहिता उल्लंघनका घटना देखिए पनि अन्तिम चरणमा सबै पक्षले आचारसंहिताको पालना गरेपछि निर्वाचन प्रक्रिया व्यवस्थित रूपमा सम्पन्न भएको उहाँको भनाइ थियो। उहाँका अनुसार राजनीतिक दल, उम्मेदवार र दलका प्रतिनिधिहरूले सौहार्दपूर्ण वातावरण निर्माण गरेकाले निर्वाचन व्यवस्थापनमा अपेक्षाभन्दा बढी सहयोग प्राप्त भएको थियो।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले निर्वाचन अधिकृतको कार्यालय स्थापना भएदेखि मत परिणाम सार्वजनिक हुँदासम्म सबै निकायबाट उल्लेखनीय सहयोग प्राप्त भएको बताउनुभयो। छोटो समयमै तयारी गर्नुपरे पनि सबै पक्षको समन्वय र सकारात्मक सहयोगका कारण निर्वाचन भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न भएको उहाँले उल्लेख गर्नुभयो। साथै आगामी दिनमा मतदान प्रक्रियालाई अझ सहज बनाउन डिजिटल मतदान प्रणालीतर्फ जानुपर्ने आवश्यकता रहेको उहाँले औंल्याउनुभयो। पुरानै शैलीमा मतदान गर्दा प्रक्रिया झन्झटिलो हुने भएकाले प्रविधिमैत्री निर्वाचन प्रणाली आवश्यक रहेको उहाँको धारणा थियो।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी, तीनवटै सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, गैरसरकारी संस्था महासंघ, नागरिक समाज, उम्मेदवार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले आगामी निर्वाचनलाई अझ व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन विभिन्न सुझावसमेत दिएका थिए।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.