बेपत्ता किशोरी तीन महिनापछि धापाखेलबाट उद्धार

हेटौँडा । गत मंसिर २१ गते हेटौँडा–१० स्थित सोलिड्यारिटी एकेडेमीबाट घर फर्कने क्रममा आफ्नै फुपूको छोरा २९ वर्षीय सुदर्शन राईसँग बेपत्ता भएकी १३ वर्षीया किशोरीलाई प्रहरीले तीन महिनापछि ललितपुरको धापाखेलबाट नियन्त्रणमा लिएको छ। विद्यालयबाट फर्किने क्रममा हराएकी बालिकाको खोजीका लागि मकवानपुर प्रहरीले सुरुबाटै विशेष निगरानी थालेको थियो, तर लामो समयसम्म कुनै ठोस प्राविधिक सुराग नपाउँदा अनुसन्धान चुनौतीपूर्ण बनेको थियो।

घटनालाई उच्च प्राथमिकतामा राखेर प्रहरीले सादा पोशाकमा विशेष टोली परिचालन गरेको थियो। एक साताअघि मात्र किशोरीले प्रयोग गरेको नयाँ मोबाइल नम्बर फेला परेपछि अनुसन्धानले नयाँ मोड लिएको थियो। उक्त नम्बरमार्फत लोकेसन ट्र्याक गर्दा उनीहरू ललितपुरको धापाखेल आसपास रहेको संकेत मिलेपछि त्यहाँ गोप्य निगरानी बढाइएको थियो। प्राविधिक विश्लेषण र स्थानीय प्रहरीसँगको समन्वयमा अन्ततः उनीहरू बसिरहेको स्थान पहिचान गरी शुक्रबार साँझ नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ।

सुदर्शन लागूऔषध प्रयोगकर्ता रहेको तथ्य सार्वजनिक भएपछि प्रहरीले घटनालाई अझ संवेदनशील रूपमा लिँदै ‘हाइ प्रायोरिटी’मा अनुसन्धान अघि बढाएको थियो। तीन महिनादेखिको मानसिक तनावपछि बालिका सकुशल फेला परेपछि परिवारजनले राहत महसुस गर्दै प्रहरीप्रति आभार व्यक्त गरेका छन्। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.