हेटौँडामा चुनावी सरगर्मी: रामेश्वर रानाको प्रतिबद्धता सार्वजनिक

हेटौँडा । हेटौँडामा आयोजित पत्रकार सम्मेलनमार्फत रामेश्वर राना ले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) (एमाले) को तर्फबाट मकवानपुर क्षेत्र नं. १ का उम्मेदवारका रूपमा आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ। उहाँले वैदेशिक हस्तक्षेपको अन्त्य गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने, लोकतन्त्रलाई सुदृढ बनाउँदै समाजवादतर्फ अघि बढ्ने र देशमा पूर्ण सुरक्षाको प्रत्याभूति गर्ने आफ्नो मुख्य प्रतिबद्धता रहेको बताउनुभयो। राष्ट्रियता र भौगोलिक अखण्डताको संरक्षणका लागि आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्दै रगतसँग साटेर ल्याइएको संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु एमालेको जिम्मेवारी भएको उहाँले स्पष्ट पार्नुभयो।

‘जेनजी आन्दोलन’ पछि अभिभावकविहीन जस्तो देखिएको मुलुकलाई संवैधानिक बाटोमा अघि बढाउन आवश्यक राजकीय कानुनी प्रबन्ध गर्नु आफ्नो प्राथमिकता हुने उहाँको भनाइ छ। निर्वाचनमार्फत नयाँ जनादेश लिएर देशमा देखिएको दण्डहीनताको अवस्था अन्त्य गर्न एमाले प्रतिबद्ध रहेको दाबी गर्दै उहाँले सुशासनलाई प्राथमिकतामा राख्ने बताउनुभयो।

हेटौँडाको सडक विस्तारका सन्दर्भमा जनताको हक अधिकार सुरक्षित नगरी कुनै पनि योजना अघि बढाउन नहुने धारणा उहाँले राख्नुभयो। प्रभावित नागरिकलाई उचित क्षतिपूर्ति र व्यवस्थापन गरेर मात्र सडक विस्तार गर्नुपर्ने उल्लेख गर्दै सडकलाई यथास्थितिमा राखेर पनि समस्या समाधान नहुने उहाँको तर्क थियो। एमालेले सपना मात्र नदेखाई व्यवहारमै काम गरेर देखाएको दाबी गर्दै उहाँले नेपालको भूमिलाई कसैले राजनीतिक खेलमैदान बनाउन नपाइने पार्टीको मान्यता रहेको बताउनुभयो।

मकवानपुरमा रोकिएका तथा अधुरा रहेका विकास निर्माणका कामहरू सम्पन्न गर्ने, युवाहरूलाई सीपमूलक तालिममार्फत रोजगारी सिर्जना गर्ने तथा कृषि क्षेत्रलाई निर्वाहमुखीबाट व्यवसायिक बनाउँदै खाद्यान्नमा आत्मनिर्भर बनाउने आफ्नो प्रतिबद्धता रहेको उहाँले बताउनुभयो। मकवानपुर क्षेत्र नम्बर १ मा १३ राजनीतिक दलका उम्मेदवार र १० स्वतन्त्र गरी कुल २३ जनाको उम्मेदवारी परेको छ भने उक्त क्षेत्रमा एक लाख ५८ हजार ४३५ मतदाता रहेका छन्।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.