हेटौँडा । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले साना तथा घरेलु उद्योगको सम्बद्र्धन प्रदेश सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनुभएको छ ।
मकवानपुर महिला उद्यमी व्यवसायी संघको १२ औँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको मंगलबार हेटौँडामा उद्घाटन गर्दै मन्त्री बादेले प्रदेश सरकार आफ्नो अधिकार क्षेत्रभित्र रहेर साना तथा घरेलु उद्योगको विकासका लागि आवश्यक नीतिगत व्यवस्था गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले उद्योग सञ्चालनमा देखिएका कानुनी जटिलताहरूलाई क्रमशः खुकुलो बनाइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
मन्त्री बादेले महिला सशक्तिकरणका लागि समयसापेक्ष कार्यक्रम आवश्यक रहेको बताउँदै यस विषयमा सरोकारवालासँग छलफल गरी अघि बढिने जानकारी दिनुभयो । सात प्रदेशमध्ये बागमती प्रदेश नेतृत्वदायी रहेको उल्लेख गर्दै उहाँले विभिन्न मन्त्रालयले सञ्चालन गर्ने तालिम तथा प्रशिक्षण कार्यक्रमलाई एकीकृत गर्दै प्रदेश सीटीईभीटीमार्फत कार्य भइरहेको पनि बताउनुभयो ।
महिला उद्यमीहरूलाई व्यवसायिक रूपमा अगाडि बढाउन प्रदेश सरकार तयार रहेको भन्दै उहाँले महिला उद्यमीहरूको सफलतालाई नै प्रदेश सरकारको सफलता ठानिने जिकिर गर्नुभयो ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले सडक विस्तारका क्रममा भत्काइएका संरचनाका कारण हेटौँडाका व्यवसायीहरू समस्यामा परेको बताउनुभयो । उद्योग वाणिज्य संघ व्यवसायीका सवालमा मौन नबसेको उल्लेख गर्दै उहाँले स्थानीय सरकारदेखि प्रदेश सरकारसम्म व्यवसायीहरूको आवाज उठाइएको दाबी गर्नुभयो । साथै, बैंकिङ कर्जा तिर्न नसकेका व्यवसायीहरूको संरक्षणका लागि राष्ट्र बैंकका गभर्नरसँग पनि छलफल गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा संघले बागमती प्रदेशकी मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेत तथा हिरण्य नेपालका अध्यक्ष एवं नेपालकी पहिलो महिला फिफा रेफ्री कल्पना शर्मालाई सम्मान गरेको थियो । कार्यक्रममा बागमती प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम परिषद्की कार्यकारी निर्देशक शान्ती लामा, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य राजकुमार न्यौपाने, बागमती प्रदेश चेम्बर कर्मशका अध्यक्ष सिद्धिलाल श्रेष्ठ, मानव अधिकार संगठनकी अध्यक्ष शर्मिला श्रेष्ठ, हेटौँडा–१० का वडा सदस्य गोमा सुनार, ओम वृद्धाश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । हाल संघमा ८३ जना क्रियाशील सदस्य रहेका छन् ।
अधिवेशनले कविता श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । उपाध्यक्ष (वाणिज्य) मा अप्सरा मानन्धर, उपाध्यक्ष (उद्योग) मा मनु लामा, सचिवमा निर्मला शर्मा, सहसचिवमा मल्लिका श्रेष्ठ र कोषाध्यक्षमा आशिका श्रेष्ठ चयन हुनुभएको छ । सदस्यहरूमा सोनी गुरुङ, कृष्णमाया श्रेष्ठ, उर्मिला शर्मा बर्तौला, कमला श्रेष्ठ र हरिदेवी श्रेष्ठ रहनुभएको छ । नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।





























