हेटौँडा । हेटौँडा–२ स्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयले स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा विविध कार्यक्रमसहित स्वर्ण जयन्ती मनाउने भएको छ ।
पुस २४ गतेदेखि सुरु भएका स्वर्ण जयन्तीका कार्यक्रमहरू माघ ८ गतेसम्म सञ्चालन हुने विद्यालयले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । स्वर्ण महोत्सव अन्तर्गत पुस २४ र २५ गते दुई दिने आँखा शिविर तथा पुस २८ गते दन्त शिविर सम्पन्न भइसकेको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णका अनुसार माघ २ गते विद्यालय परिसर सरसफाइ, माघ ३ गते बिहान रक्तदान कार्यक्रम तथा शैक्षिक सामग्री प्रदर्शनी आयोजना गरिनेछ ।
स्वर्ण महोत्सवको मुख्य कार्यक्रम माघ ४ गते आयोजना हुने छ । उक्त दिन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्घाटनअघि झाँकीसहित ¥याली निकालिनेछ भने सोही दिन स्वर्ण स्तम्भ अनावरण, स्मारिका लोकार्पण तथा सम्मान कार्यक्रमसमेत गरिने स्कुलका शिक्षक जगन्नाथ सहनीले जानकारी दिए ।
माघ ५ गते पूर्व विद्यार्थी भेला तथा विविध अतिरिक्त कार्यक्रम सञ्चालन हुनेछन् । माघ ६ गते नगरस्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिनेछ । त्यस्तै माघ ७ गते वृहत् सांस्कृतिक कार्यक्रमसहित शैक्षिक तथा खेलकुद पुरस्कार वितरण गरिने छ ।
स्वर्ण जयन्ती कार्यक्रम माघ ८ गते हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा समापन हुने छ । समापन समारोहमा सम्मान तथा पुरस्कार वितरणलगायत कार्यक्रम हुने विद्यालयले जनाएको छ ।
वि.सं. २०२७ सालमा ‘सिद्धार्थ प्राइमरी बोर्डिङ स्कुल’ का रूपमा स्थापना भएको यस विद्यालय वि.सं. २०३२ सालदेखि सिद्धार्थ प्राथमिक विद्यालयका रूपमा सञ्चालनमा आएको थियो । वि.सं. २०६४ सालमा खुला विद्यालय अन्तर्गत कक्षा १० सञ्चालनको अनुमति पाएको विद्यालयले वि.सं. २०६५ सालमा उच्च माध्यमिक शिक्षा परिषद्बाट कक्षा ११ र १२ सञ्चालनको स्वीकृति प्राप्त गरेको हो ।
हाल विद्यालयमा कानून, व्यवस्थापन र शिक्षा समूहमा विहानी सत्रमा पठनपाठन भइरहेको छ । वि.सं. २०७८ सालमा बागमती प्रदेश सरकारबाट ‘बिग स्कुल’ का रूपमा छनोट भएको यस विद्यालयमा इमिस अभिलेखअनुसार हाल २ हजार ३ सय ७१ जना विद्यार्थी अध्ययनरत छन् ।
विद्यालयले स्वर्ण जयन्तीपछिको दशकलाई प्रविधिमैत्री शिक्षाको दशकका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ । हाल विद्यालयमा सरकारी अनुदानतर्फ ४२ र निजी स्रोतबाट ३५ जना गरी कुल ७७ जना जनशक्ति कार्यरत रहेका छन् ।





























