व्यवसायी र सुरक्षानिकायबीच हेटौंडामा समन्वयमूलक भेटवार्ता सम्पन्न

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा मंगलबार हेटौंडामा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठ र नवागन्तुक प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहरासँग व्यवसायी तथा सुरक्षानिकायका प्रतिनिधिहरूबीच छलफल कार्यक्रम सम्पन्न भएको छ।

संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघका पदाधिकारी, सल्लाहकार, सुरक्षानिकायका अधिकारीहरू तथा व्यवसायीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा अध्यक्ष रानाभाटले मकवानपुर उद्योग वाणिज्य संघसँगको सहकार्यका क्रममा प्रजिअ स्किम श्रेष्ठबाट उल्लेखनीय सहयोग प्राप्त भएको स्मरण गर्दै धन्यवाद व्यक्त गर्नुभयो। उहाँले भारतीय सवारी साधनलाई बाइपास सडक प्रयोग गर्न बाध्य बनाउँदा थप झन्झट सिर्जना भएको र यसले पर्यटन क्षेत्रलाई पनि असर पारेको भन्दै समाधान खोज्नुपर्नेमा जोड दिनुभयो। साथै, २५ मिटर सडक विस्तारको अनिश्चितता र राप्ती तटस्थित तरकारी बजार नजिक प्रहरी बिट आवश्यक रहेको विषयमा पनि छलफल गरिएको बताउनुभयो।

प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले सुरक्षित समाज निर्माणमा सबैको भूमिकाको महत्त्व हुने बताउँदै हेटौंडा बजारमा रहेका धेरै सिसिटिभी क्यामेरा जिर्ण अवस्थामा रहेका कारण मर्मत तथा नयाँ जडान आवश्यक भएको उल्लेख गर्नुभयो। उहाँले बुद्धचोकदेखि जिल्ला प्रहरी कार्यालयसम्मको अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न जरुरी रहेको र शान्ति–सुरक्षा कायम गर्न प्रहरी सधैं प्रयत्नशील रहने बताउनुभयो।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले आफ्नो सेवाअवधिमा प्राप्त सहयोगका लागि सबैलाई धन्यवाद दिँदै प्रशासनिक जिम्मेवारी स्थायी नभएको र जुनसुकै बेला सरुवा हुने स्वभाविक प्रक्रिया रहेको बताउनुभयो। उहाँले निजी क्षेत्र सबल नभइ देश समृद्ध नहुने उल्लेख गर्दै, संघीय संरचनामा जिम्मेवारी विभाजन भएकाले त्यही आधारमा सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो।

श्रेष्ठले फुटपाथ र पार्किङ व्यवस्थापनमा सुरक्षानिकाय सहयोग गर्न तत्पर रहेको बताउँदै, विकृति र अराजकताविरुद्ध सामूहिक सूचना र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले उद्योग वाणिज्य संघले चाहेको सहकार्य र सहयोगको निरन्तरता रहिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक सन्तोष विक्रम साह, प्रहरी निरीक्षक हेमन्त चौधरी, संघका वरिष्ठ उपाध्यक्ष दीपक उप्रेती, महासचिव प्रतिमा श्रेष्ठलगायतको पनि सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.