मनहरीमा सगरमाथा आधारभूत विद्यालयको नयाँ भवन उद्घाटन

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मनहरी गाउँपालिका–६, रुपाचुरीमा नव–निर्मित विद्यालय भवनको बुधबार उद्घाटन गरेका छन्।

विदेशी दातृ निकाय बिल्डिङ एजुकेशन को आर्थिक सहयोगमा एक अर्थ फाउन्डेशन नेपालले निर्माण गरेको चार कोठे भवन, शौचालय र चौर स्तरोन्नति कार्यसहित करिब ४० लाख रुपैयाँ लागतमा भवन निर्माण सम्पन्न भएको हो। भवन निर्माणपछि मनहरी गाउँपालिकाले डेस्क–बेन्चको व्यवस्था पनि गरेको छ।

उद्घाटन समारोहमा मुख्यमन्त्री बानियाँले विद्यालय भवन निर्माणमा सहयोग गर्ने दातृ निकायप्रति आभार व्यक्त गर्दै प्रदेश सरकार शैक्षिक क्षेत्रप्रति गम्भीर रहेको बताए। उनले आवश्यक पूर्वाधार र शैक्षिक वातावरण बनाउन आगामी दिनमा पनि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै गाउँपालिकामार्फत शिक्षक दरबन्दीलाई निरन्तरता दिन समेत आग्रह गरे।

कार्यक्रम सगरमाथा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बीरबहादुर मुक्तानको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, दातृ निकायका प्रतिनिधि बीन्डी स, नोर्मेन, विद्यालयका प्रधानाध्यापक खड्कबहादुर मुक्तानलगायतले मन्तव्य राखेका थिए।

उक्त अवसरमा मनहरी गाउँपालिकाले वडा नम्बर ६ का सात विपन्न परिवारलाई काजकिरिया खर्चबापत प्रतिपरिवार २० हजार रुपैयाँ हस्तान्तरण गरेको थियो। साथै केही समयअघि चट्याङ लागी ज्यान गुमाएका विशाल ब्लोनको परिवारलाई गाउँपालिकामार्फत २ लाख रुपैयाँ, मुख्यमन्त्री बानियाँले व्यक्तिगत रुपमा १० हजार रुपैयाँ र प्रदेश सरकारले १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता गरिएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.