निर्वाचन जरुरी : महामन्त्री विश्वप्रकाश शर्मा

हेटौँडा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक निकासका लागि निर्वाचन अनिवार्य रहेको बताएका छन् ।

जेनजी आन्दोलनका क्रममा क्षति पुगेको मकवानपुरस्थित कांग्रेस पार्टी कार्यालय अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले घाइते अवस्थामा रहेको संविधानलाई स्वस्थ बनाउन फागुन २१ मै प्रतिनिधिसभाको निर्वाचन आवश्यक भएको धारणा राखे । उहाँले राष्ट्रपति, संविधान, राष्ट्रियसभा, प्रदेश संरचना र स्थानीय तहलाई निर्वाचनमार्फतै ‘रिफ्रेस’ गर्न सकिने बताए ।

महामन्त्री शर्माले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न कांग्रेसले पूर्ण सहयोग गर्ने उल्लेख गर्दै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार सफल बनाउन कांग्रेस तयार रहेको स्पष्ट पारे । वर्तमान सरकार असफल भए लोकतन्त्र नै धरापमा पर्ने चेतावनी पनि दिनुभयो ।

भदौ २३ र २४ गतेका घटनामा दोषीहरूलाई कारबाही गर्नुपर्ने भन्दै उहाँले सरकारी संरचना र व्यवसायिक प्रतिष्ठानमाथि भएको आगजनी तथा तोडफोड जेनजीको भावना विपरीत रहेको बताए । जेनजीको नाममा अराजक गतिविधि गर्नेप्रति सरकारले कडा कारबाही गर्नुपर्नेमा उहाँको जोड थियो ।

शर्माले हेटौँडा उपमहानगरपालिका, कांग्रेस बागमती प्रदेश कार्यालय र प्रदेश सभा भवनसमेत अवलोकन गर्दै आफ्नै सम्पत्ति जलाएर नष्ट गर्नु दुःखद भएको टिप्पणी गरे ।

जेनजी आन्दोलनले कांग्रेसलाई पनि आत्ममूल्यांकन गर्न सन्देश दिएको भन्दै उहाँले विधान परिमार्जनमार्फत पार्टीमा नयाँ पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्ने आश्वासन दिए । नियमित महाधिवेशन मंसिर मसान्तभित्र सम्पन्न गर्नुपर्ने धारणा राख्दै उहाँले समयमै उठेका आवाज सुन्ने संस्कार नबढाउँदा नेताहरू ग्रेसफुल हैसियतमा नभई ‘फोर्सफुल एक्जिट’ गर्न बाध्य हुने बताए ।

सभापतिको घरमा भेटिएको रकमबारे उठेका प्रश्नमा उहाँले सामाजिक सञ्जालका भिडियोका आधारमा निष्कर्ष ननिकाल्न आग्रह गर्दै या त बुढानीलकण्ठ वा सरकारले नै जवाफ दिनुपर्ने बताए । सबै नेताको सम्पत्ति छानबिन गर्नुपर्ने बताउँदै आफू अहिलेसम्म कुनै आयआर्जनको लाभमा संलग्न नभएको दाबी गर्नुभयो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.