हेटौँडा । भ्रष्टाचारविरोधी आन्दोलनमा उत्रिएका जेन-जी पुस्ताले सोमबारको हिंसात्मक घटनापछि मंगलबार पनि हेटौँडामा प्रदर्शन तीव्र पारेका छन्। बिहानैदेखि सुरु भएको प्रदर्शनमा स्थानीयबासी र व्यापारीहरूले समेत समर्थन जनाएका छन्।
हेटौँडा–२ स्थित उपमहानगरपालिका कार्यालय अगाडि प्रदर्शनकारीहरूले प्रहरीको सुरक्षा घेरा तोड्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध राजीनामाको मागसहित नाराबाजी गरेका थिए। शीतल महल चोकमा थोरै संख्यामा देखिएका प्रदर्शनकारी सिमाचोक, बुद्ध चोक हुँदै मानस चोक पुग्दा बाक्लिँदै गए। यस क्रममा उनीहरूले शङ्ख बजाउँदै विरोध जनाएका थिए।
हेटौँडा–१६ मा स्थानीयले टायर बालेर विरोध जनाए भने पश्चिम मकवानपुरका व्यापारीहरूले समर्थनस्वरूप बजार बन्द गरे। राजमार्ग समेत अवरुद्ध भएपछि सर्वसाधारण आवतजावत प्रभावित भएको छ।
उपमहानगरपालिकाले सोमबारको हिंसात्मक घटनालाई मध्यनजर गर्दै मंगलबार एक दिनका लागि नगरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरले जारी गरेको सूचनामा शान्ति सुरक्षा कायम गर्न विद्यार्थी, शिक्षक, अभिभावक र नगरवासीलाई संयमता अपनाउन आग्रह गरिएको छ।
सोमबार देशभर भएका आन्दोलनमा १९ जनाको ज्यान गएको थियो भने तीन सयभन्दा बढी घाइते भएका थिए। त्यस घटनापछि मंगलबार बिहान ८:२० बजेसम्म हेटौँडामा प्रदर्शनकारीको उपस्थिति बाक्लो रह्यो। आक्रोशित युवाले हेटौँडा–१९ सानान्टारमा प्रहरीको मोटरसाइकल समेत जलाएका छन्।
जेन-जीले भ्रष्टाचारको अन्त्य, सुशासनको प्रत्याभूति र अभिव्यक्ति स्वतन्त्रताको मागसहित आन्दोलन थालेका हुन्। मंगलबार पनि उनीहरूले बिहान १० बजे उपमहानगरपालिकाको गेट अगाडि भेला भएर प्रदर्शन गर्ने घोषणा गरेका छन्।































