हेटौँडा । छिमेकी मुलुक भारतको सिक्कीममा भएको ७९ औं इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगिताको उपाधिमाथि हेटौंडा फुटबल एकेडेमी मकवानपुर नेपालले कब्जा गरेको छ । मुनसोङ सिनचोन युथ क्लबको आयोजनामा शुक्रबार सम्पन्न भएको फाइनल खेलमा आदर्श युथ क्लब सिङ्तामलाई ४-१ गोलले हराउँदै साविक विजेता हेटौंडा फुटबल एकेडेमीले छिरिङ लामाको क्याप्टेनसीपमा दोस्रो पटक उपाधिमाथि आफ्नो कब्जा गरेको हो । गत वर्ष ७८ औं इन्डिपेन्डेन्सकोमा सम्पन्न भएको फाइनल खेलमा बरमेक क्लबलाई हराउँदै छिरिङ लामाकै क्याप्टेनसीपमा उपाधि चुम्न सफल भएको थियो ।
उपाधि जितेसँगै हेटौंडा फुटबल एकेडेमीको टिमले एकलाख रुपैयाँसहित शिल्ड तथा ट्रफी प्राप्त गरेका छ्न् भने उपविजेता एवाइसी सिङ्तामको टिमले ६० हजार रुपैयाँसहित शिल्ड तथा ट्रफी प्राप्त गरेका छ्न् । हेटौंडा फुटबल एकेडेमीको तर्फबाट पहिलो हाफको ७ मिनेटमा गोल गर्दै सुजन भोम्जनले सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफकै २८ मिनेटमा संजिव अर्यालले गोल गर्दै अग्रतालाई बढाएका थिए । एवाइसी सिङ्तामबाट जर्सी नम्बर-११ का खेलाडीले मात्र सान्त्वना गोल प्रहार गरेका थिए । त्यसपछि दोस्रो हाफको १० मिनेटमा गोल गर्दै अञ्जन चौधरीले खेललाई ३-१ गोललो स्थितिमा पुर्याएका थिए । दोस्रो हाफकै २४ मिनेटमा मिलन स्याङ्तानले अन्तिम गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच घोषित हुँदै हेटौंडा फुटबल एकेडेमीका गोलरक्षक अस्मिर गोङ्बाले ६ हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक हेटौंडा फुटबल एकेडेमीकै गोलरक्षक अस्मिर गोङ्बा र सर्वाधिक गोलकर्ता घोषित हुँदै मिलन स्याङ्तानले ट्रफी प्राप्त गरेका छन् । हेटौंडाको तर्फबाट पहिलो गोल गरेका सुजनले १० हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरेका छन् ।
आइतबार भएको पहिलो सेमीफाइनल खेलमा एवाइसी सिङ्ताम सेभन स्टार क्लबलाई टाइब्रेकरमा हराउँदै फाइनलमा आइपुगेको थियो भने सोमबार भएको सेमीफाइनल खेलमा हेटौंडा फुटबल एकेडेमी मकवानपुर नेपालको टिमले ड्रागन फुटबल क्लबलाई ४-० गोलले हराउँदै फाइनलमा आइपुगेको थियो । खेलको निर्धारित समय १-१ गोलको बराबरीमा रोकिएपछि टाइब्रेकरमा पुगेको टिम प्रशिक्षक भीम लामाले बताए । शनिबार भएको क्वाटरफाइनलको खेलमा बरमेक फुटबल क्लबलाई ३-१ गोलले हराउँदै हेटौंडा फुटबल एकेडेमी सेमीफाइनलको स्थानसुरक्षित गरेको र एवाइसी सिङ्तामले २-१ गोलले केएफसी समरडुङ्लाई हराउँदै सेमीफाइनलको स्थान सुरक्षित गरेको टिम म्यानेजर सञ्जय लामाले जानकारी दिएका छ्न् । प्रतियोगितामा २४ वटा टिमहरुको सहभागिता रहेको थियो । सिक्कीममा हरेक वर्ष इन्डिपेन्डेन्स डे को अवसरमा फुटबल प्रतियोगिता हुने गरेको छ। हेटौंडाको टिम विगद ३ वर्ष देखि इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगितामा सहभागी हुँदै आइरहेको छ ।



































































