फोनिज मकवानपुर शाखाले २६औं स्थापना दिवस प्रभातफेरी कार्यक्रमसहित मनायो

हेटौँडा । मकवानपुर — नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुर शाखाले मंगलबार हेटौँडामा प्रभातफेरी कार्यक्रमको आयोजना गरी आफ्नो २६औं स्थापना दिवस मनाएको छ। ‘समृद्धिको आधारः पूर्ण समावेशी सञ्चार’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम फोनिज मकवानपुरका अध्यक्ष नवराज वाईबाको सभाध्यक्षता तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष र फोनिज मकवानपुरका सल्लाहकार कृष्ण सारु मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

प्रभातफेरी कार्यक्रम हेटौँडाको सिमाचोकबाट सुरु भएर बुद्धचौक, उद्योग वाणिज्य चोक हुँदै पुनः सिमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कार्यक्रमका प्रमुख अतिथि मगरले सञ्चार क्षेत्रमा आदिवासी जनजातिको आवाज प्रभावकारी बनाउन फोनिजले खेलेको भूमिका प्रशंसनीय भएको बताउँदै पत्रकारिताको दिगो विकासका लागि पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न तालिम तथा कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे। साथै उनले सबै पत्रकारहरूलाई जिम्मेवार र उत्तरदायी भएर पेशामा सक्रिय हुन आग्रह गरे।

फोनिजका केन्द्रीय पार्षद् र पत्रकार महासंघ बागमतीका सदस्य सुवर्णलाल श्रेष्ठले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै पत्रकार अधिकारका लागि महासंघ सदैव लागिपरेको बताए। उनले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानलगायत उल्लेखनीय उपलब्धि प्राप्त गर्नमा जनजाति पत्रकारहरूको भूमिका रहेको उल्लेख गरे।

फोनिज मकवानपुरका अध्यक्ष वाईबाले यस कार्यक्रमले आदिवासी जनजाति समुदायको आवाजलाई सशक्त बनाउँदै समावेशी सञ्चार प्रवद्र्धन गर्ने सन्देश प्रवाह गर्ने विश्वास लिएको बताए। उनले जनजाति पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि तालिम र कार्यक्रम समावेश गर्न नेपाल पत्रकार महासंघ बागमतीका अध्यक्ष मगरलाई अनुरोध गरे।

कार्यक्रममा फोनिज बागमती प्रदेशका उपाध्यक्ष दीलबहादुर रुम्बा, फोनिज बागमतीकी सचिव तथा सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङ, प्रेस चौतारी नेपाल बागमती प्रदेश सदस्य तथा मकवानपुर इन्चार्ज विवश अधिकारी लगायतका फोनिजकर्मीहरू पनि सहभागी थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.