हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका छन्। मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रस्तुत विश्वासको मत सम्बन्धी प्रस्तावमा बानियाँ पक्षमा ६३ मत प्राप्त भएको छ।
कुल ११० सदस्यीय प्रदेशसभामा सरकार टिकाउन कम्तीमा ५६ सांसदको समर्थन आवश्यक पर्ने भएकाले मुख्यमन्त्री बानियाँले पर्याप्त समर्थन पाएर पदमा टिक्न सफल भएका हुन्। सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका ३६ र एमालेका २७ सांसदले मत दिएका थिए।
कांग्रेसका एक सांसद अनुपस्थित भएका थिए भने प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार देश बाहिर रहेका कारण उनी पनि बैठकमा उपस्थित हुन सकेनन्। बैठकमा कुल ९२ सांसद उपस्थित थिए जसमा २२ मत विपक्षमा र ७ मत तटस्थमा परेको छ। १८ सांसद बैठकमा अनुपस्थित थिए भने सभामुखले मत विभाजनमा भाग लिएका थिएनन्।
मुख्यमन्त्री बानियाँ गत साउन २० मा एमाले र कांग्रेसको गठबन्धनबाट प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। उनले नेपालको संविधानको धारा १६८ को उपधारा ४ र प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ अनुसार विश्वासको मत प्राप्त गरेका हुन्।






























